
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० चौर गाउँमा उत्पादन भएको १०३ क्विन्टल लसुन काठमाडौँ पठाएको छ । गाउँका २८ घरपरिवारले उत्पादन गरेको १०३ क्विन्टल लसुन काठमाडौँ पठाइएको हो । वडा कार्यालयको सहजिकरणमा १०३ क्विन्टल अर्थात १० हजार ३ सय किलो लसुन काठमाडौँ पठाएको वडा अध्यक्ष धनबहादुर खड्का ‘बसन्त’ले जानकारी दिनुभयो ।
उहाँका अनुसार चौर गाउँका खिमबहादुर ओलीले सबैभन्दा बढी १३ क्विन्टल ३० किलो लसुन काठमाडौँ पठाउँदा सबैभन्दा कम १ क्विन्टल ४ किलो लसुन रमेश ओलीले विक्री गर्नुभएको छ । चौरगाउँमा उत्पादन भएको लसुन अझै बिक्रि गर्न बाँकी रहेको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । लसुनलाई तीन ग्रेड(ए,वि र सी) मा विभाजन गरेर बिक्री गरिएको हो ।
किसानले ए ग्रेडलाई प्रति किलो १ सय २५, बि ग्रेडलाई १ सय ५ र सि ग्रेडलाई प्रति किलो ६० मा विक्री गरेका छन् । अव क्रमश वडाको खर्सुपानी, गलम्पाटी, नमुनाबस्ती र खड्का टोलमा उत्पादन भएकाे लसुन विक्री गरिने तयारी वडाले गरेका छ । वडामा उत्पादन भएको लसुनबाट वडामा करिव डेड करोड रुपैयाँ भित्रिने वडाले अनुमान गरेको छ ।
वडामा २ सय ५० जना किसानले व्यसायिक लसुन खेती गर्दै आएका छन् । वडाले पनि वडामा उत्पादन भएको कृषिजन्य बस्तु बजारसम्म पठाउन तथा अनुदानका कार्यक्रमहरुमा सहजिकरण गरिरहेको छ ।