Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी नगरपालिकाले बढायो बाल विकास सहजकर्ता र विद्यालय सहयोगीको तलब

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले बाल विकास सहजकर्ता र विद्यालय सहयोगीको तलब बढाएको छ । आगामी आर्थिक वर्षको बजेट मार्फत नगरपालिकाले बाल विकास सहजकर्ता र विद्यालय सहयोगीहरूको तलब बढाएको हो । 

बाल विकास सहजकर्ताको ३ हजार र विद्यालय सहयोगीको २ हजार तलब बढाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । अव साउन १ गते देखि बाल विकास सहजकर्ताको तलब १५ हजार र विद्यालय सहयोगीको तलब १२ हजार हुने छ । 

अहिले बाल विकास सहजकर्ताले मासिक १२ हजार र विद्यालय सहयोगीले १० हजार तलब पाउँदै आएका छन् । नगरपालिका भरमा ४३ जना बाल विकास सहजकर्ता रहेकामा सङ्घबाट ३१ जना र नगरपालिकाबाट १२ जना कार्यरत रहेका छन् भने विद्यालय सहयोगी ४१ जना रहेका छन् । 

उनीहरू सबैको तलब वृद्धि भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो । तलब वृद्धिका लागि २८ लाख बजेटको व्यवस्था गरिएको उहाँले बताउनुभयो । यसले शिक्षाको स्तर वृद्धिका लागि भूमिका खेल्ने नगरपालिकाले विश्वास लिएको छ । 

यसैबिच नगरपालिकाले कृषक, कर्मचारी र जोखिमपूर्ण क्षेत्रमा काम गर्ने कामदारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने भएको छ । यसका लागि नगरपालिकाले आगामी वर्षका लागि २० लाख बजेट विनियोजन गरेको छ । 

कार्यविधि निर्माण गरेर आगामी आर्थिक वर्षको सुरु देखि नै यो कार्यक्रम सञ्चालनमा लगिने निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो । व्यावसायिक कृषि उत्पादनमा जोड्न तथा जोखिमका क्षेत्रमा काम गर्नेहरूलाई प्रोत्साहन गर्न यो कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो । 

सामाजिक सुरक्षा कोषमा सूचिकृत भएर तथा कार्यविधि निर्माण गरेर कार्यक्रम सुचारु गर्ने नगरपालिकाको तयारी छ । कस्ता कृषक तथा कर्मचारी र कस्ता जोखिमपूर्ण क्षेत्रमा काम गर्ने कामदारलाई कोषमा आबद्ध गर्ने भन्ने कुरा कार्यविधिले निश्चित गर्ने ढकालले बताउनुभयो ।

विशेष गरी व्यावसायिक कृषिमा रहेका, घरका कुनै पनि सदस्य रोजगारीमा नभएका कृषकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने योजना रहेको उहाँले बताउनुभयो । यो कार्यक्रम लागु भयो भने मासिक रूपमा नगरपालिकाले सामाजिक सुरक्षा कोषमा निश्चित रकम जम्मा गरिदिने छ ।।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update