Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट ५ का ४६ जना किसानलाई सुत्केरी भैंसी स्याहार खर्च
फाइल फाेटाे ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ ले ४६ जना कृषकलाई सुत्केरी भैंसी स्याहार खर्च वितरण गरेको छ । वडाले आज एक कार्यक्रमको आयोजना गरी कृषकलाई सुत्केसी भैंसी स्याहार खर्च उपलब्ध बनाएको हो । वडा कार्यालयको सुत्केरी भैंसी स्याहार कार्यक्रम अन्तरर्गत चालु आर्थिक वर्षमा  वडाका ४६ जना भैंसी पालक कृषकलाई स्याहार खर्च उपलब्ध बनाएको वडा अध्यक्ष समिरजङ मल्लले जानकारी दिनुभयो । 

उहाँका अनुसार गत साउन १ देखि हालसम्म वडामा सुत्केरी भएका भैंसी पालक कृषकलाई २१ सय ७४ रुपैयाँका दरले स्याहार खर्च उपलब्ध बनाएको हो । भैंसी पालक कृषकलाई हौसला स्वरुप स्याहार खर्च उपलब्ध बनाएर कृषकलाई सम्मान गरिएको वडा मल्लले जानकारी दिनुभयो ।

गत आर्थिक २०७९/०८० मा वडाका ३२ जना, आर्थिक वर्ष २०८०/०८१ मा ४० जना भैंसी पालक कृृषकलाई सुत्केरी स्याहार खर्च उपलब्ध बनाएर सम्मान गरिएको थियो । सुत्केरी भैंसी स्याहार कार्यक्रममा सुचिकृत हुन किसानले आफ्नो नागरिकता, सुत्केरी भैंसीसंगै खिचिएको एक प्रति फोटो र जग्गाधनी कागज सहित वडा कार्यालयमा सम्पर्क गर्नुपर्ने हुन्छ । किसान सुचिकृत भएपछि वडाले टोलमै पुगेर स्थलगत अवलोकन गर्ने गरेकाे छ  भने  वडाले रकम भने आर्थिक वर्षको अन्तिममा दिने गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update