Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटको वार्षिक सार्वजनिक सुनुवाइ: नगरपालिकाले के-के गर्‍यो गतिविधि, नगरवासीले कस्ता उठाए प्रश्न ?

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले चालु आर्थिक २०८१/०८२ को वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । आइतबार मुसिकोट नगरपालिकाको सभा हलमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । नगरपालिकाले वर्ष भरी गरेका विकास निर्माणका काम, नगर शाखाबाट भएका गतिविधि र नगरपालिकाले चालु आर्थिक वर्षमा गरेको वित्तीय प्रगति लगायतका विषयमा जानकारी बनाएको थियो । 

नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेर जनताले चित्त नबुझेका कुरा राख्ने अवसर प्रदान गरेकोमा सहभागीहरूले खुसी व्यक्त गरेका  थिए ।  सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीहरूले नगरपालिकाले गर्ने गतिविधि तथा विकास निर्माणका काममा सुशासन र पारदर्शिता  हुनुपर्ने, सल्लेमा रहेको बसपार्क सञ्चालनको लागि नगरपालिकाले तत्काल पहल गर्नुपर्ने, कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउनु पर्ने माग राखेका थिए । 

त्यस्तै मुसिकोट नगरपालिका ५ बागबजारमा रहेको तरकारी सङ्कलन केन्द्र सञ्चालन हुनुपर्ने, नगरपालिकाले पटक पटक बजार क्षेत्रमा सार्वजनिक क्षेत्र मिचि  निर्माण गरिएका संरचना हटाउने भने पनि कार्यान्वयन गर्न नसकेको प्रति सहभागीहरूले असन्तुष्टि व्यक्त गरेका थिए । मुसिकोट १ सहिद मैदानमा मुहान मासेर पार्किङ निर्माण गरेको विषयमा पनि सहभागीहरूले असन्तुष्टि व्यक्त गरे । मुहान मास्ने भन्दा पनि संरक्षण गर्नुपर्ने सहभागीहरूको भनाई  थियो । 

विभिन्न विद्यालयमा हुने शिक्षक नियुक्तीमा नगरपालिका गैरजिम्मेवारी हुने गरेको उनीहरूको गुनासाे थियो । अटोहरुले मनपरी भाडा असुल्ने गरेकाले यसलाई रोक्नु पर्ने, निर्माण हुन बाँकी रहेका वडा कार्यालय भवनहरू तत्काल निर्माण हुनुपर्ने, केही वडा अध्यक्षहरूले वडाको कामकाज नगरपालिकामा बसेर गर्ने गरेको भन्दै सेवा ग्राहीले वडाको काम वडा कार्यालयबाटै सञ्चालन हुनुपर्ने समेत माग राखेका थिए । केही विद्यालयमा म्याद सकिएका सेनेटरी प्याड वितरण गर्ने गरिएकाले यसलाई अनुगमन गर्नुपर्ने माग राखेका थिए  । त्यस्तै गरी नगरपालिकाले खलङ्गामा कृषि हाटबजार लगाउनुपर्ने लगायतका माग सहभागीहरूले राखेका थिए । 

public-hearing-musikot-1-1752404290.jpg
सहभागीहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै  नगर प्रमुख महेन्द्र केसीले जायज  मागहरू नगरपालिकाले  सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जनताका आवश्यकता असीमित हुने  तर बजेट सीमित मात्रमा हुने भएकाले भनेजस्तो काम गर्न नसकिएको उहाँले बताउनुभयो । सेरिगाउँदेखि सल्लेसम्म मापदण्ड विपरीत  सडक छेउमा भएका घुम्ती टहराहरू हटाउन नगरपालिकाले एक दुई दिनमा ठोस योजना बनाएर अगाडी बढ्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।  साथै सल्लेमा रहेको प्रयोग विहीन भएको बसपार्क सञ्चालनको लागि पनि पहल गर्ने नगर प्रमुख केसीले भनाई थियो । 

त्यस्तै  सहभागीहरूले उठाएका प्रश्नहरूको उप प्रमुख विमलकुमार पुन, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरी, लगायत विषयगत समितिका संयोजक,  शाखाका प्रमुखहरूले जबाफ दिएका थिए । मुसिकोट नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण पत्रकार मनिष खड्काले गर्नुभएको थियो । 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update