
आदिकवि भानुभक्त आचार्यको २ सय २२ औँ जन्म जयन्तीको अवसरमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा कविता प्रतियोगिता सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको आयोजना र त्रिवेणी माध्यमिक विद्यालय सिम्रुतुको व्यवस्थापनमा त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा भानुभक्तको स्मृतिमा कविता प्रतियोगिता भएको हो । त्रिवेणी गाउँपालिका भित्रका माध्यमिक विद्यालय स्तरीय प्रतियोगितामा गाउँपालिकाका १० वटा विद्यालयबाट ३८ जनाले प्रतिस्पर्धा गरेका थिए ।
जसमा त्रिवेणी माध्यमिक विद्यालय सिम्रुतुमा कक्षा १२ मा अध्ययनरत मेनुका ओली ७५.५ प्राप्त गरी प्रथम हुनुभएको छ । साधारण मावि मुरुडाँडामा कक्षा १० मा अध्ययनरत चाहना पुन ७२ अङ्क सहित दोस्रो, अन्धनासक मावि खुम्चेरीमा कक्षा १० मा अध्ययनरत चेतना खड्का ६८.५ अङ्क सहित तेस्रो भएको आयोजक राप्ती साहित्य परिषद् रुकुम पश्चिमले जनाएको छ ।
त्यस्तै साधारण मावि मुरुडाँडामा कक्षा १० मा अध्ययनरत जेनी खड्का ६८ अङ्क र बाल शिक्षा मावि गैरिनेटाकी कक्षा १० मा अध्ययनरत प्रकृति ओली ६७ नम्बर सहित सान्त्वना भएको बताइएको छ । त्रिवेणी गाउँ पालिकाका अध्यक्ष गणेशकुमार केसीको प्रमुख आतिथ्यता तथा कर्णाली प्रदेश सरकारका पूर्व सचिव भरतकुमार शर्मा, प्रगतिशील लेखक सङ्घका केन्द्रीय सचिव गिरिप्रसाद बुढा र रुकुमेली बाङ्गमय अधिष्ठान सचिव पूर्ण ओलीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका सल्लाहकार मुकुन्दप्रसाद शर्मा, त्रिवेणी माविका प्रधानाध्यापक डिल्ली मल्ल, सिम्रुतु क्याम्पसका उपप्राध्यापक चन्द्रा ओली, देवकुमारी ओली, दिलीपकुमार देवकोटा, पत्रकार भरत चन्द र गोपाल ओली लगायतको पनि आतिथ्यता रहेको थियो । कार्यक्रममा पूर्ण ओलीद्वारा लिखित तथा निर्देशित गीति नाटक मान्छेको माया प्रस्तुत गरिएको थियो । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन परिषद्का सचिव ओमबहादुर खत्रीले गर्नुभएको थियो ।