Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी अस्पताललाई स्वास्थ्य बिमाको प्रथम सेवा विन्दुबाट नहटाउन चौरजहारी र कुमाखको आग्रह 

रुकुम पश्चिमको चौरजहारी अस्पताललाई स्वास्थ्य बिमाको प्रथम सेवा विन्दुबाट नहटाउन २ स्थानीय तहले आग्रह गरेका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिका र सल्यानको कुमाख गाउँपालिकाले चौरजहारी अस्पताललाई स्वास्थ्य बिमाको प्रथम सेवा विन्दुबाट नहटाउन स्वास्थ्य बिमा बोर्ड समक्ष आग्रह गरेका हुन् । 

चौरजहारी अस्पतालबाट रुकुम पश्चिम, सल्यान, जाजरकोट, डोल्पा, रुकुम पूर्वसम्मका नागरिकहरूले सेवा पाइरहेको अवस्थामा चौरजहारी अस्पताललाई प्रथम सेवा बिन्दुबाट हटाउने निर्णय अन्यायपूर्ण हुने भन्दै दुई पालिकाले बोर्डलाई पत्र लेख्दै नहटाउन अनुरोध गरेका हुन् । 

२०८२ असार ८ गतेको निर्णय बमोजिम २०८२ साउन १ गतेबाट लागु हुने गरी प्रथम सेवा विन्दुको रूपमा बिमितहरुलाई सेवा दिँदै आएको चौरजहारी अस्पताललाई प्रथम सेवा विन्दुबाट हटाई प्रेषण केन्द्रको रूपमा मात्र कायम रहने बेहोरा अवगत भएको भन्दै चौरजहारी नगरपालिका र कुमाख गाउँपालिकाले पत्र नै लेखेर यो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् । 

चौरजहारी नगरपालिका वडा नम्बर १० मा रहेको नगर अस्पताल समेत स्वास्थ्य सेवा बिमाको सेवा प्रदायक संस्था रहेकोमा उक्त ठाउँ दुर्गममा रहेको, पूर्वाधार तथा जनशक्तिको अभावका कारण सहज सेवा उपलब्ध गराउने अवस्था नरहेको भन्दै चौरजहारी अस्पताललाई प्रथम सेवा बिन्दुबाट नहटाउन आग्रह गरिएको हो । 

आफूहरूसँगको समन्वय तथा सहकार्यमा चौरजहारी अस्पतालले गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्दै आएकोले चौरजहारी अस्पताललाई प्रथम सेवा बिन्दुका रूपमा कायम गर्न नसके उपचार गर्न निकै समस्या हुने अवस्था रहेको पनि चौरजहारी नगरपालिका र कुमाख गाउँपालिकाले जनाएका छन् । 

हालसम्म जुनसुकै स्वास्थ्य संस्था स्वास्थ्य बिमाको सेवा प्रदायक हुने पाउने व्यवस्था रहेकामा सरकारको पछिल्लो निर्णय अनुसार साउन १ गतेबाट भने सरकारी स्वास्थ्य संस्था मात्र पहिलो सेवा बिन्दुका रूपमा रहने छन् । जसअनुसार रुकुम पश्चिमको चौरजहारी अस्पताल पनि स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दुबाट हट्दै छ । चाैरजहारीका तर्फबाट नगर प्रमुख पुष्प वादी र कुमाख गाउँपालिकाकाे तर्फबाट गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथाेकी तथा प्रमुख प्रशासकीय अधिकृत दिलीपकुमार साेनीले पत्र लेख्नुभएकाे छ ।

chjr-1752667209.jpg

kumakh-1752667209.jpg
 

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update