
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले करारका कर्मचारीको करार सम्झौता नवीकरण नगरेपछि विरोध भएको छ । ७ जना करारका कर्मचारीको करार सम्झौता नवीकरण नभएपछि कर्मचारीका विभिन्न सङ्घ सङ्गठन तथा नेकपा माओवादी केन्द्र चौरजहारीले नै विरोध जनाएको हो ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन चौरजहारी, अखिल नेपाल ट्रेड युनियन महासंघ चौरजहारी र अखिल नेपाल सरकारी अस्थायी करार ज्यालादारी कर्मचारी श्रमिक सङ्घ चौरजहारीले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर करारका कर्मचारी हटाउने नगरपालिकाको निर्णयको विरोध गरेका छन् भने नेकपा माओवादी केन्द्र चौरजहारीले त्यसको समर्थन गरेको छ ।
जनताको घरदैलोको सरकारका रूपमा रहेको स्थानीय तहमा कार्यरत कर्मचारीहरूको ज्ञान, सीप र अनुभवलाई सही प्रयोगबाट नै जनताप्रति सरकारको विश्वास बढाउन सकिनेमा उल्टै कर्मचारी हटाएको भन्दै तीन सङ्गठनले असन्तुष्टि व्यक्त गरेका छन् ।
नगरपालिकाका विभिन्न शाखाहरूमा विगत लामो समय देखि करार सेवामा कार्यरत सात जना कर्मचारीहरूलाई असार २७ गतेको नगर कार्यपालिका बैठकले ७ जना कर्मचारीको नयाँ करार म्याद थप नगरेको विषयले गम्भीर ध्यानाकर्षण भएको तीन सङ्गठनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
व्यक्तिगत पूर्वाग्रह राखेर अन्यायपूर्ण निर्णय गरिएको समेत तीन सङ्गठनले जनाएका छन् । ‘चौरजहारी नगरपालिकाको कामको चापलाई मध्यनजर गर्दै करार सेवाबाट पदपूर्ति भई विगत लामो समयदेखि कार्यरत कर्मचारीहरूलाई व्यक्तिगत पूर्वाग्रही र कुनै पनि पूर्व जानकारी बिना र विना कारण सेवाबाट हटाउने कार्यले सार्वजनिक प्रशासनमा पजनी प्रथाको आभास दिलाएको छ । यस प्रकारका पूर्वाग्रही कामहरू तत्काल बन्द गर्न सम्बन्धित स्थानीय सरकारको ध्यानाकर्षण गराउँदछौ,’ विज्ञप्तिमा भनिएको छ ।
साथै करार सम्झौता नगरिएका कर्मचारीहरूलाई तत्काल काममा फर्किने वातावरण सृजना गर्न आग्रह गर्दै यदि त्यसो नभएमा मुख दर्शक भएर नबस्ने विज्ञप्ति मार्फत चेतावनी दिइएको छ ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन चौरजहारी नगर समिति सचिव देवेन्द्र रोकाय, अखिल नेपाल ट्रेड युनियन चौरजहारी नगर समितिका अध्यक्ष प्रेम महर र अखिल नेपाल सरकारी अस्थायी करार ज्यालादारी कर्मचारी श्रमिक सङ्घ चौरजहारीका अध्यक्ष प्रवेश शर्माले संयुक्त विज्ञप्ति जारी गर्नुभएको छ ।
यसैबिच नेकपा माओवादी केन्द्र चौरजहारी नगर समितिले तीन सङ्गठनले केही नगर कर्मचारीहरूलाई सेवाबाट बर्खास्त गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको भनी निकालेको प्रेस विज्ञप्तिमा ऐक्यबद्धता जनाएको छ ।
पार्टीका नगर अध्यक्ष मोतीप्रसाद पोखरेल र सचिव अर्जुन कुमालले जारी गरेको विज्ञप्तिमा चरम बेरोजगारीको समस्या बढिरहेको वर्तमान अवस्थामा थोरै ज्यालादारीमा विगत ८ वर्षदेखि सेवामा कार्यरत कर्मचारीहरूलाई कुनै पनि पूर्व जानकारी विना र विना कारण बर्खास्त गर्नु श्रम ऐन, २०७४ को दफा १४४ को उपदफा १ (ग) विपरीत कार्य भएको भन्दै तत्काल निर्णय सच्याई नियमित काममा खटाउन भनिएको छ ।
यस कार्यलाई गैर कानुनी भन्दै माओवादीले यस्ता गैर जिम्मेवार निर्णयहरू नगर्न चौरजहारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालयलाई चेतावनी समेत दिएको छ ।
के भन्छ नगरपालिका ?
चौरजहारी नगरपालिकाले भने गैर कानुनी कुनै काम नभएको बताएको छ । नगरपालिकाले कर्मचारी हटाएको नभई केही कार्यक्रम सकिएको र केही रिक्त पदमा दरबन्दी अनुसारका स्थायी कर्मचारी आएपछि केही करारका कर्मचारीको करार सम्झौता नवीकरण गर्न नसकिएको नगर प्रमुख पुष्प वादीले जानकारी गराउनुभयो ।
मनोपरामर्श कार्यक्रम फेज आउट भएपछि ३ जना कर्मचारी स्वतः पदमुक्त भएको, प्रधानमन्त्री रोजगार कार्यक्रममा संयोजक बाहेक अन्य कर्मचारी कटौती भएपछि २ जना कर्मचारी स्वतः हटेको र प्राविधिक शाखामा कार्यरत एक जना कर्मचारी दरबन्दी अनुसार इन्जिनियर आएपछि काममा राख्न नसकिने अवस्था आएको नगर प्रमुख वादीको भनाई छ ।
त्यस्तै सहकार्य समूहमा लगानी हुने बैङ्कको ऋणका लागि सहजीकरण गरी सहकार्य समूहको कामलाई प्रभावकारी बनाउन राखिएका कर्मचारी बैङ्कले ऋण लगानी गर्न छाडेपछि उक्त कर्मचारीको करार सम्झौता नवीकरण गर्न नसकिएको उहाँले बताउनुभयो ।
यसमा नगरपालिकाले कुनै पनि पूर्वाग्रह नराखेको उहाँले स्पष्ट पार्नुभयो । केही व्यक्तिको उक्साहटमा नगरपालिकालाई विवादित बनाउन खोजिएको र अनावश्यक दबाब सिर्जना गरिएको उहाँको दाबी छ ।
करार सम्झौता नवीकरण नभएका कर्मचारीहरूमा असिस्टेन्ट सब इन्जिनियर पदमा कार्यरत मनोज शाह, सामाजिक परिचालक (पशु सेवा प्राविधिक) पदमा कार्यरत प्रज्ज्वल शर्मा, मनोसामाजिक परामर्श सेवा कार्यक्रममा कार्यरत मनोपरामर्शकर्ताहरु खिमबहादुर महतारा र अनिता शर्मा, द्वन्द्व पीडित स्वयंसेवक पदमा कार्यरत भद्रशिला बटाला, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रमा कार्यरत प्राविधिक सहायक प्रवीण थापा र रोजगार सहायक खडक ढकाल रहनुभएको छ ।