
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले करारका ७ जना कर्मचारी हटाइएको भन्दै अफवाह फैलाइएको र यसले नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै नगरपालिकाले कर्मचारी हटाइएको भनिएको विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छ ।
नगरपालिकाले नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन चौरजहारी, अखिल नेपाल ट्रेड युनियन महासंघ चौरजहारी र अखिल नेपाल सरकारी अस्थायी करार ज्यालादारी कर्मचारी श्रमिक सङ्घ चौरजहारीले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर करारका कर्मचारी हटाउने नगरपालिकाको निर्णय प्रति गरिएको असहमति तथा उक्त सङ्गठनहरूले गरेको र उक्त सङ्गठनको असहमतिमा समर्थन गरिएको ने.क.पा. (माओवादी केन्द्र) चौरजहारीको विज्ञप्ति तथा सामाजिक सञ्जालमा लेखिएका भ्रामक समाचारहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
नगरपालिकाले कुनै पनि कर्मचारीलाई नहटाइएको दाबी गरेको छ । प्रेस विज्ञप्ति तथा सामाजिक सञ्जालमा लेखिए बमोजिम चौरजहारी नगरपालिकाले कर्मचारी हटाएको नभई केही कार्यक्रम सकिएको र केही रिक्त पदमा दरबन्दी अनुसारका स्थायी कर्मचारी आएकोले करारका कर्मचारीको करार सम्झौता नवीकरण गर्न नसकिएको जनाएको छ ।
मनोसामाजिक परामर्श केन्द्रमा कार्यरत ३ जना र प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यरत २ जना करारमा कार्यरत कर्मचारीहरूको सङ्घीय सरकारबाट कार्यक्रम फेज आउट भएकोले साथै नगरपालिकाको दरबन्दीअनुसार इन्जिनियर पदमा प्रदेश लोक सेवा आयोगबाट पदपूर्ति भएकोले प्राविधिक शाखामा कार्यरत १ जना करारमा कार्यरत प्राविधिक कर्मचारीको करार सम्झौता नवीकरण नभएको नगर प्रमुख पुष्प वादीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै कृषक सहकार्य समूह गठन तथा परिचालनको लागि नियुक्ति गरिएका १ जना सामाजिक परिचालक पदमा कार्यरत करार कर्मचारीको बैङ्कले कृषक सहकार्य समूहलाई ऋण लगानी गर्न नसक्ने भएपछि सो कार्यक्रम सञ्चालन नहुने भएकोले करार सम्झौता नगरिएको पनि विज्ञप्ति मार्फत स्पष्ट पारिएको छ ।
नगरपालिकाले कर्मचारी हटाइएको भनी गरिएको प्रचारमा सत्यता नरहेको र भ्रमित नहुन सबैमा आग्रह पनि गरेको छ । कर्मचारी हटाइएको भनी आएका विज्ञप्ति र सामाजिक सञ्जालमा लेखिएको भ्रामक समाचार प्रति भ्रमित नहुन बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी, राजनैतिक दल लगायत आम चौरजहारी नगवासीमा हार्दिक अपिल गरिन्छ, विज्ञप्तिमा भनिएको छ ।
गैर कानुनी रूपमा केही करार कर्मचारी हटाइएको भन्दै कर्मचारीका विभिन्न सङ्घ सङ्गठनले आपत्ति जनाएका थिए भने त्यसमा नेकपा माओवादी केन्द्र चौरजहारीले ऐक्यबद्धता जनाएको थियो ।