Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीमा कर्णालीको पहिलो प्रज्ञा प्रतिष्ठान गठन, सभा मार्फत प्रतिष्ठानको कार्यकारी परिषद चयन 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा त्रिवेणी प्रज्ञा प्रतिष्ठानको गठन गरिएको छ । गाउँपालिका अध्यक्ष गणेशकुमार केसी कुलपति रहेको २१ सदस्यीय त्रिवेणी प्रज्ञा प्रतिष्ठानको सभा गठन गरिएको हो । गत वैशाख २४ गते गाउँपालिका मार्फत प्रमाणीकरण भएको त्रिवेणी गाउँपालिका प्रज्ञा प्रतिष्ठान कार्यविधि २०८२ अनुसारको प्रज्ञा सभाको गठन गरिएको प्रतिष्ठानका सदस्य  सचिव नवराज खड्काले  जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रज्ञा प्रतिष्ठानले गाउँपालिकामा रहेका भाषा, साहित्य, कला र लोक साहित्यको संरक्षण प्रवर्द्धन तथा पर्यावरण गर्ने, मौलिक लोक कला साहित्यको क्षेत्रमा क्रियाशील सङ्घ संस्थाहरूलाई नियमन तथा सृजनशील क्रियाकलाप सञ्चालनको लागि आवश्यक परामर्श र क्रियाकलापहरूलाई प्रोत्साहन  गर्ने छ । 

त्यस्तै साहित्यिक क्षेत्रमा क्रियाशील विशिष्ट योगदान गर्ने स्रष्टा र सर्जकहरूलाई सम्मान गर्ने, लेखन वृत्ति प्रदान गर्ने,  भाषा साहित्य, कला र संस्कृति सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलन र गोष्ठी सञ्चालन गर्ने प्रतिष्ठानको उद्देश्य रहेको उहाँले जानकारी दिनुभयो । त्रिवेणी प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा साहित्यिक क्षेत्रमा विशिष्ट योगदान गर्नुहुने व्यक्तित्व मनलाल ओली चयन हुनुभएको छ । 

कार्यविधि अनुसार गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिका शिक्षा अधिकारी, कार्यपालिका सदस्यहरू मध्यबाट एक जना महिला सहित पालिकाले तोकेका तिन जना, गाउँपालिका क्षेत्र भित्रका भाषा, साहित्य कला र संस्कृतिको क्षेत्रमा क्रियाशील संस्थाहरू मध्यबाट १२ जना सदस्य र गाउँपालिकाले तोकेका अधिकृत स्तरका कर्मचारी सदस्य सचिवको रूपमा चयन गरिने प्रावधान अनुसार सभाको गठन गरिएको हो ।

सभाले त्रिवेणी प्रज्ञा प्रतिष्ठानको पाँच सदस्यीय कार्यकारिणी प्रज्ञा परिषद् समेत गठन गरेको छ । जसको अध्यक्षमा उपकुलपति मनलाल ओली रहनुभएका छ भने सदस्यहरूमा कुवेर ओली, निर्मला बुढाथोकी र गोपाल ओली तथा सदस्य सचिवको रूपमा नवराज खड्कालाई चयन गरिएको त्रिवेणी प्रज्ञा प्रतिष्ठान रुकुम पश्चिमले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update