Kakhara सबैको खबर सम्पूर्ण खबर
स्यार्पूमा १५ औँ स्यार्पू पर्यटन मेला सुरु


रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा १५ औँ स्यार्पू पर्यटन मेला सुरु भएको छ । शनिवार एक कार्यक्रमका बिच बाँफिकोट गाउँपालिका पूर्व अध्यक्ष धर्मबहादुर केसीले मेलाको उद्घाटन गर्नुभएको हो । वडा नम्बर ३ र ५ अवस्थित स्यार्पू ताललाई प्रचारप्रसार गर्ने उद्देश्यले २०६७ साल देखि हरेक वर्ष असोज ११ देखि १५ गते सम्म यस क्षेत्रमा मेला लाग्दै आएको छ । हिजोबाट सुरु भएको स्यार्पू पर्यटक मेला असोज १५ गते सम्म सञ्चालन हुने छ । 

मेला उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका पूर्व अध्यक्ष केसीले स्यार्पू गाउँपालिका वासीको गहना भएको बताउनुभयो । स्यार्पू जस्तो पर्यटकीय स्थलले बाँफिकोटलाई विश्वसामु चिनाएको उहाँले बताउनुभयो । स्यार्पू तालका कारण वर्षमा हजारौँ पर्यटक स्यार्पू अवलोकनको लागि आउने गरेको उहाँले बताउनुभयो । स्यार्पू तालले गर्दा पालिकावासीलाई आम्दानीको स्रोत भएको उहाँले उल्लेख गर्नुभयो । स्यार्पू ताललाई थप व्यवस्थित गर्न सरकारले बजेटको व्यवस्था  गर्नुपर्ने  उहाँले उहाँको भनाई थियो । 

स्यार्पू पर्यटन तथा संस्कृतिमा महोत्सवका संयोजक शेरविर विकको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा पूर्व गाउँपालिका अध्यक्ष केसी, ३ नम्बर वडाध्यक्ष तिलवीर केसी, ५ नम्बर वडाध्यक्ष मनु शाही, नेकपा माओवादी केन्द्रका बाँफिकोट गाउँपालिका अध्यक्ष दक्ष पुन लगायतको उपस्थिति रहेको रहेको थियो । यस्तै बिच १५ औँ स्यार्पू पर्यटन मेलाको अवसरमा आयोजित महिला पुरुष भलिबल प्रतियोगिता पनि उद्घाटन गरिएको छ । ३ नम्बर वडामा रहेको वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा खुला शुद्ध वडा स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुन लागेको हो । 

पुरुष भलिबल तर्फ रुकुम पश्चिम र पूर्व सहित २१ टिमले सहभागिता जनाएको वडा युवा तथा खेलकुद विकास मितिका सचिव आदित्य मल्लले जानकारी दिनुभयो । यहाँका अनुसार महिला भलिबल तर्फ १२ टिमले सहभागिता जनाएका छन् । महिला भलिबल खेलाडी पनि रुकुम पूर्व र पश्चिमका विभिन्न वडा रहेका छन् । पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख पाँच हजार पाँच सय ५५, दोस्रो हुने टिमले नगद ७० हजार पाँच सय ५५ तथा तेस्रो हुने टिमले नगद ४० हजार पाँच सय ५५ र सान्त्वना हुने टिमले १४ हजार पाँच सय ५५ रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र पाउने वडा युवा तथा खेलकुद विकास समितिका सचिव मल्लले जानकारी दिनुभयो । 

 महिला भलिबल प्रतियोगितातर्फ प्रथम हुने टिमले नगद २० हजार पाँच सय ५५ रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र पाउने  छन् । द्धितीय हुने टिमले नगद १५ हजार पाँच सय ५५ तृतीय हुने टिमले नगद दश हजार पाँच सय ५५ रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने  छन् । 

स्यार्पू तालमा खुला पौडी रेस प्रतियोगिताको पनि आयोजना गरिएको छ । पौडी रेस प्रतियोगितामा प्रथम नगद चार हजार दोस्रोले नगद तीन हजार तथा तेस्रो हुनेले नगद दुई हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक समितिले जानकारी दिएको छ । घैटोफोर प्रतियोगिताको विजेताले नगद दुई हजार पाँच सय रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाउने छन् ।  विधागत रूपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । विधागत तर्फ वेस्ट प्लेयरलाई एक हजार पाँच सय रुपैयाँ साथमा ट्रफी, वेष्ट स्पाइकर  वेष्ट सर्भर, वेष्ट लिवेरो, वेष्ट व्बलकर,वेष्ट सेटरलाई समान एक/एक हजार रुपैयाँ पुरस्कार सहित ट्रफीको व्यवस्था गरिएको  छ ।

महिला भलिबल तर्फ  उत्कृष्ट खेलाडीलाई मात्र पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट खेलाडीलाई नगद एक हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको वडा युवा तथा खेलकुद विकास मितिका अध्यक्ष  टिकाराम मल्लले जानकारी दिनुभयो । खेल प्रतियोगिता असोज १५ गते सम्म सञ्चालन हुने भएको छ । स्यार्पूमा मेलाको अवसरमा लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा रुकुम पश्चिमले असोज ११ गतेदेखि २७ गतेसम्म महोत्सव समेत सञ्चालन गरिरहेको जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update