रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सबैभन्दा पहिला आयोजना सम्पन्न गर्ने उपभाेक्ता समितिलाई सम्मान गरेको छ । चौरजहारी नगरपालिका कार्यालय अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ मा निर्माण कार्य गर्ने आयोजनामध्ये नयाँ आयोजना निर्माण कार्य सम्पन्न गरी भुक्तानी लिने पहिलो उपभोक्ता समितिलाई सम्मान गरिएको हो ।
वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन योजना स्वीकृत भए पश्चात् समयमै सम्झौता गरी निर्माण कार्य सम्पन्न गर्ने तिमीले ढोलटाकुरा सडक निर्माण उपभोक्ता समिति चौरजहारी नगरपालिका-१४ का अध्यक्ष जीतबहादुर खड्का र उक्त आयोजना हेर्ने प्राविधिक शिवजी बोहरालाई सम्मान गरिएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।
धेरै ताकेता गर्दा पनि कतिपय आयोजनाहरू समयमै सम्झौता नगर्ने, कतिपयले सम्झौता गरेर पनि समयमै काम सम्पन्न नगर्ने र कतिपयले सम्पन्न गरेर पनि असार महिनामा भुक्तानी लिने प्रवृत्तिले बजेट खर्च प्रक्रियामा असन्तुलन हुने गरेको अवस्थामा समयमै काम गर्न प्रोत्साहन गर्न सम्मान गरिएको नगरपालिकाले जनाएको छ । यसले समयमै आयोजना निर्माण कार्य सम्पन्न गर्न र भुक्तानी लिन प्रोत्साहन गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालको विश्वास छ ।
तिमीले ढोलटाकुरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष खड्का र प्राविधिक बोहरालाई एक कार्यक्रमका बिच अबिर आवरण, दोसल्ला तथा प्रमाणपत्रले सम्मान गरेको नगरपालिकाले जानकार दिएको छ । सम्मान कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकाल, योजना शाखा प्रमुख प्रेम राना लगायत विभिन्न शाखा प्रमुख एवं कर्मचारी तथा सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियो ।





-1759842583.jpg)