1623829978.jpg)
रुकुम पूर्वको भूमे गाउँपालिकाले व्यवस्थित सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । २ नम्बर वडाको खाबाङ स्थित गाउँ कार्यपालिकाको कार्यालयसँगै बनाइएको भवनमा गाउँपालिकाले सूचना केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको हो । गाउँपालिकाका सम्पूर्ण सूचनाहरु गाउँपालिकाका बारेमा जान्न चाहनेहरुका लागि एकै ठाउँबाट एकै पटक र सजिलै सूचना दिन सकियोस् भनेर केन्द्र स्थापना गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सूचना केन्द्र स्थापना गर्नका लागि भवन नै निर्माण गरेको छ ।
झण्डै ४० लाख बजेटमा भवन निर्माण तथा सूचना केन्द्र स्थापनाको काम सकिएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिनुभयो । स्थानीय सरकारका सूचना व्यवस्थित गरी राख्न, अरु सूचना पनि लिन दिन सहज हुने उद्देश्यले सूचना केन्द्र बनाइएको अध्यक्ष बुढाले जानकारी दिनुभयो । सूचना केन्द्रको भवन ४ कोठाको छ । उक्त केन्द्रमा सानो बैठक हल, स्तनपान कक्ष, पुस्तकालय, कम्युटर कक्ष तथा सूचना प्रविधि अधिकृतको कार्यकक्ष बनाइएको छ । सूचना केन्द्रबाट नागरिकले चाहेकै बेला सूचना लिन पाउने गरी व्यवस्था गरिएको छ ।
उक्त सूचना केन्द्रमा गाउँपालिकाका सबै प्रकाशन राखिएका छन् । यसका साथसाथै अरु विभिन्न निकायका महत्वपूर्ण विवरण पनि गाउँपालिकाले सूचना केन्द्रमा राखिदिएको छ । जसबाट नागरिकले धेरै भन्दा धेरै सूचना पाउन भन्ने उद्देश्य रहेको अध्यक्ष बुढाले बताउनुभयो । सूचना केन्द्रमा राखिएको कम्प्युटर नागरिक आफैले चलाउन सक्ने गरी राखिएको छ । जुन कम्प्युटरबाट नागरिकले सूचनाका सफ्टकपी वा प्रिन्ट गरेर हार्ड कपी पनि लैजान सक्ने व्यवस्था गरिएको छ ।
नागरिकका लागि कम्प्युटर राखिएको र त्यसबाट समेत सूचन लैजान सक्ने व्यवस्थापन गरिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत जनक ओलीले जानकारी दिनुभयो । समयक्रम अनुसार सूचना महत्वपूर्ण भएकाले यसलाई गाउँपालिकाले प्राथमिकतामा राखेको जनाएको छ । समय र प्रविधिको विकास अनुसार सूचना केन्द्रलाई पनि व्यवस्थित बनाउँदै लैजाने योजना रहेको अधिकृत ओलीले बताउनुभयो ।