Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीको पिसिआर प्रयोगशाला अब प्रदेश मातहत
चाैरजहारी नगरपालिका स्थित आरटी पिसिआर ल्याब ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सञ्चालन, व्यवस्थापन तथा उसकै समन्वयमा सञ्चालनमा रहेको पिसिआर परीक्षण प्रयोगशाला अब कर्णाली प्रदेश मातहत रहने भएको छ । चौरजहारी नगरपालिका २, नम्बर वडामा रहेको प्रयोगशाला अब प्रदेशले सञ्चालनको तयारी गरेको छ । हालसम्म चौरजहारी नगरपालिकाले सञ्चालन तथा व्यवस्थापन गर्दै आएको प्रयोगशाला अब प्रदेश मातहत हुने भएको हो ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यमै यो प्रयोगशाला प्रदेशको व्यवस्थापनमा सञ्चालन हुने उल्लेख गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले ल्याएको बजेटमा चौरजहारीको पिसिआर प्रयोगशाला प्रदेशको व्यवस्थापनमा सञ्चालन हुने जनाइएको छ । बजेट वक्तव्यको ४२ औं नम्बरमा ‘रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको समन्वयमा उक्त नगरपालिकाले सञ्चालन गर्दै आएको कोभिड ल्याब प्रदेश सरकारको मातहतमा ल्याई सञ्चालनमा ल्याइने छ,’ भनेर उल्लेख गरिएको छ ।  

कोरोना भाइरसको पहिलो भेरियन्ट चलेका बेला चौरजहारी नगरपालिकाले उक्त ल्याब स्थापना गरेको थियो । सुरुमा एक करोड २३ लाखमा स्थापना भएको यो ल्याबको अरु सम्पूर्ण व्यवस्थापन पनि चौरजहारी नगरपालिकाले गरिरहेको छ । ल्याब सञ्चालनका क्रममा हाल नगरपालिका ५७ लाख रुपैयाँ घाटामा रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिनुभयो । केसीका अनुसार हालसम्म उक्त ल्याब स्थापनामा दुई करोड ७० लाख ६१ हजार, आठ सय ३३ रुपैयाँ लगानी भएको छ ।

प्रदेश सरकार तथा पिसिआर परीक्षण गराएका स्थानीय तहबाट दुई करोड १५ लाख २२ हजार रुपैयाँ प्राप्त भएको केसीले जानकारी दिनुभयो । गत वर्ष पिसिआर परीक्षणका लागि सुर्खेत, नेपालगञ्ज तथा दाङ पठाउँदा पनि समयमै परीक्षण नहुने भएपछि चौरजहारी नगरपालिकाले प्रयोगशाला स्थापना गरेको थियो । चौरजहारीमा प्रयोगशाला स्थापना भएपछि पिसिआर परीक्षणमा सजिलो भएको थियो । यसमा रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, जाजरकोटबाट पिसिआर परीक्षणका लागि स्वाव आउने गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update