Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर जारी, कहाँ कहाँ हुँदै छ ? 

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नगरपालिकाका ज्येष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै नगर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा र ज्येष्ठ नागरिक मञ्चको संयुक्त आयोजनामा शिविर भइरहेको हो । 

नगरपालिकाका ५ ठाउँमा शिविर सञ्चालन हुने र आइतबार मुसिकोट नगरपालिका वडा नम्बर ७ साँखबाट शिविरको सुरुवात भएको नगर उपप्रमुख विमलकुमार पुनले जानकारी दिनुभयो । वडाध्यक्ष एक्कबहादुर पाण्डेको अध्यक्षतामा आयोजित शिविरको नगर उपप्रमुख पुनले गर्नुभएको थियो । 

आज मुसिकोट नगरपालिका वडा नम्बर ६ को सहरी स्वास्थ्य केन्द्र झुल्खेतमा चलिरहेको छ । भोली प्रस्तावित नगर अस्पताल मुसिकोट ४ सोलावाङ, पर्सी वडा नम्बर १४ को स्वास्थ्य चौकी खेताकुनामा र माघ २९ गते वडा नम्बर १ खलङ्गाको बाल मन्दिरमा शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ । 

प्रत्येक ठाउँमा एक÷एक दिनको शिविर सञ्चालन हुने नगर उपप्रमुख पुनले जानकारी गराउनुभयो । उहाँका अनुसार शिविरमा ज्येष्ठ नागरिकको उच्च रक्तचाप, मधुमेह, आँखा रोग, मिर्गौला रोग, बाथ रोग र अन्य रोगको पहिचान तथा उपचार हुने छ । 

नगरपालिकाभरमा रहेका ज्येष्ठ नागरिकहरूलाई लक्षित गरेर शिविर आयोजना गरिएको र आफ्नो पायक पर्ने शिविरमा पुगेर सेवा लिन उहाँले नगरपालिका भित्रका सम्पूर्ण ज्येष्ठ नागरिकहरूलाई आग्रह गर्नुभयो । शिविर पूर्ण रूपमा निःशुल्क रहेको र डाक्टर सहितका स्वास्थ्यकर्मीहरूबाट सेवा प्रदान भइरहेको उहाँको भनाई छ । 

शिविरमा उपप्रमुख पुनको नेतृत्वमा टोली खटिएको छ भने त्यसमा नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी लगायतको टिम रहेको छ । ज्येष्ठ नागरिकहरूमा रहेका स्वास्थ्य समस्याको पहिचान र त्यसको उपचारका लागि शिविरको आवश्यकता देखिएकोले शिविर सञ्चालन गरिएको ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष लक्ष्मण शर्माले जानकारी गराउनुभयो ।

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update