रुकुम पश्चिमका २ स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । चौरजहारी नगरपालिका र आठबिसकोट नगरपालिकाले फागुन १ गते ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिएका हुन् । तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गतेबाट देशमा ‘जनयुद्ध’ सुरु गरेको थियो । माओवादी घटकले हरेक वर्षको फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउँदै आएका छन् । सोही अवसरमा रुकुम पश्चिमका २ पालिकाले आज सार्वजनिक बिदा दिएका हुन् ।
नेपालमा वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय उत्पीडनका विरुद्ध न्याय, स्वतन्त्रता र समानताको लागि एकात्मक राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न भएको सुरु भएको ऐतिहासिक सशस्त्र सङ्घर्ष र जनआन्दोलनका क्रममा सहादत प्राप्त भई नेपाल सरकारबाट राष्ट्रिय शहीद घोषणा भएका नगरका सम्पूर्ण शहीदहरूप्रति उच्च श्रद्धा र सम्मान स्वरूप सार्वजनिक बिदा दिइएको चौरजहारी नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख पुष्प वादीले एक सूचना जारी गर्दै बिदाका बारेमा जानकारी गराउनुभएको हो । आठबिसकोट नगरपालिकाका प्रमुख रबी केसीले पनि सशस्त्र सङ्घर्ष र जनआन्दोलनमा ज्यान गुमाने सबै सहिदहरूप्रति उच्च श्रद्धा र सम्मान प्रकट गर्दै आज नगरभरमा सार्वजनिक बिदा दिइएको जानकारी गराउनुभएको छ । जिल्लामा ६ पालिका रहेकामा अन्य पालिकाले भने आज बिदा दिएका छैनन् ।





-1759842583.jpg)