Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पुर्वमा प्रचण्ड मतदातासँग भेटघाटमा वेस्त, अन्य राजनीतिक दल भने सुस्त 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले मतदातासँगको भेटघाट कार्यक्रमलाई तीव्रता दिनुभएको छ । माघ २९ गते आफ्नो चुनावी क्षेत्र रुकुम पूर्व प्रवेश गर्नुभएका प्रचण्डले जिल्लाका विभिन्न ठाउँका मतदातासँगको भेटघाट कार्यक्रमलाई तीव्रता दिनुभएको हो । उहाँ सात दिने मतदाता भेटघाटका लागि आफ्नो चुनावी क्षेत्र आएको नेकपा रुकुम पूर्वले जनाएको छ ।

सात दिने मतदाता भेटघाट कार्यक्रमका लागि रुकुम पूर्व आउनुभएका प्रचण्ड गत शुक्रवार लाबाङ पुग्नुभएको थियो  । त्यहाँ पुगेर धेरै काम गर्न बाँकी रहेको  र त्यो काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्यस्तै उहाँले महतवासीसँग पनि भेटघाट गर्नुभयो । खाबाङ बगरमा आयोजित जनयुद्ध दिवस कार्यक्रममा सहिद, बेपत्ता परिवार र घाइतेलाई सम्मान गर्नुभयो । 

गत शनिवार चुनबाङको भेरी डाँडा, युद्ध संग्रहालय र ऐतिहासिक बैठक स्थल अवलोकन गर्नुका साथै मतदातासँग भेटघाट सक्काएर  पुथाउत्तरगंगा गाउँपालिकाको पर्यटकीय स्थल तकसेरा पुग्नुभयो । त्यहाँ पुगेर उहाँले तकसेराको सडक पूर्वाधार, भाषा र संस्कृतिको संरक्षणका लागि प्रतिबद्धता समेत जनाउनुभयो ।  

आइबार तकसेरामा दलित समुदायसँग भेटघाट गर्नुभयो ।  सोही दिन बाछीगाउँ, बिर्गुङ, पदमी, ओख्मा, डिम्बुरगैरा तातोपानी, मयाङ लगायतका ठाउँमा जनभेटघाट सहित तामाखानी–फलामखानीको सम्भावनाबारे स्थानीयसँग छलफल गर्नुभयो । त्यसपछि उहाँ मैकाेट पुग्नुभयाे । प्रधानमन्त्री छँदा हेलिकप्टरबाट मैकोट आउनुभएका प्रचण्ड यसपटक सडक मार्ग हुँदै त्यहाँ पुग्नुभएको थियो । 

मैकोटवासीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो-“क्रान्तिको किल्ला रुकुम पूर्व अब विकासको नयाँ मोडेल बन्नेछ। समुदायमा आधारित समाजवादको सुरुवात यहीँबाट हुन्छ।” मगर, दलित, ठकुरीको सामूहिक बसोबास र संस्कृतिलाई समाजवादको पूर्वाभ्यास भन्दै उहाँले रुकुमेली जनतामा समाजवादको रगत रहेको बताउनुभयो । आज भने उहाँ पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १२ को कोल लगायतका आसपासका क्षेत्रका मतदातासँग चुनावी भेटघाट भएको छ ।

प्रचण्डको अझै जिल्लामा ३ दिन चुनावी भेटघाट कार्यक्रम रहेको र सोही दिनको अवधिमा पुथाउत्तरगंगा गाउँपालिकाको विभिन्न ठाउँका मतदातासँग भेटघाट गर्ने कार्यक्रम रहेको नेकपा रुकुम पूर्वले जनाएको छ । प्रचण्डसँगै समानुपातिक उम्मेदवार उपेन्द्रलाल कामी, सुनिता बुढा र नेताहरू पूर्णबहादुर घर्ती, गणेशमान पुनलगायतका नेताहरू हुनुहुन्छ । रुकुम पूर्वमा अन्य राजनीतिक दलहरूले चुनावी प्रचार गरे पनि सुस्त देखिएका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update