रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको गाउँ सभाको १४ औँ अधिवेशन सम्पन्न भएको छ । आज त्रिवेणी गाउँपालिकाको सभा हल खारानेटामा अधिवेशन सम्पन्न भएको हो । गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीको अध्यक्षतामा भएको अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीले चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
उक्त प्रतिवेदन व्यापक छलफलसहित आजको गाउँ सभाले पारित गरेको गाउँपालिकाले जनाएको छ । अर्धवार्षिक प्रतिवेदन अनुसार यो वर्ष चालुतर्फ ४० करोड १५ लाख ४० हजार ३७२ बजेट रहेकोमा १६ करोड ९५ लाख ५४ हजार ८७९ अर्थात् ४२.२ प्रतिशत बजेट खर्च भएको छ ।
यसै गरी पुँजीगततर्फ १३ करोड ७० लाख ७८ हजार ६०० बजेट रहेकोमा जम्मा ५१ लाख ४९ हजार १०० अर्थात् ३.७५ प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । विकासे बजेट पुँजीगत खर्च निकै निराशा जनक देखिएको छ ।
जिल्ला समन्वय समिति रुकुम पश्चिमका पूर्व सदस्य टेकबहादुर ओलीको शुभकामना मन्तव्य रहेको अधिवेशनमा गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमहरूको संशोधन प्रस्ताव पेस गर्नुभएको थियो ।
उक्त संशोधन प्रस्तावमाथि व्यापक छलफल पछि गाउँ सभाले पारित गरेको छ । त्यस्तै अधिवेशनमा गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले चालु आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक अनुगमन समीक्षा प्रतिवेदन, सामाजिक विकास समिति संयोजक रणबहादुर पुनले स्थानीय तहको पाठ्यक्रम प्रस्ताव र विधायन समिति संयोजक मोतीराम पुनले त्रिवेणी गाउँपालिका आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा आर्थिक वर्ष २०८२/८३ मा निर्मित ऐन नियम कार्यविधि निर्देशिका अनुमोदन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तुत भएका यी सबै प्रस्तावहरू गाउँ सभाले सर्वसम्मत पारित गरेको गाउँपालिकाले जनाएको छ । बैठकको शून्य समयमा सभाका सदस्यहरूले सम–सामयिक तथा विविध विषयमा छलफल गरेका थिए । बिहान ११ बजेदेखि सुरु भएको अधिवेशन सभाका अध्यक्ष गणेशकुमार केसीले निर्धारित कार्य तालिका अनुसार समापन गर्नुभएको थियो ।





-1759842583.jpg)