रुकुम पश्चिमको मुसिकोट नगरपालिका कृषि शाखाको आयोजनामा नास्पाती कलमी अभियान वडा नम्बर ६ स्थित मेलचौरमा सम्पन्न भएको छ । अभियानमा स्थानीय कृषकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रम नगर प्रमुख महेन्द्र केसीको अध्यक्षतामा सम्पन्न भएको हो । प्रमुख अतिथिका रूपमा उपप्रमुख विमलकुमार पुन तथा विशेष अतिथिका रूपमा निमित्त प्रमुख प्रशासकीय अधिकृत कुबेर केसी सहभागी हुनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख केसीले कृषिलाई परम्परागत शैलीबाट आधुनिक तथा व्यावसायिक डङ्गमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले यस्ता अभियानले कृषकलाई व्यवहारिक सीप प्रदान गर्दै आत्मनिर्भर बन्न प्रेरित गर्ने बताउनुभयो ।
प्रमुख अतिथि पुनले कृषकको आयआर्जन वृद्धि र क्षमता विकासका लागि नगरपालिकाले निरन्तर कृषक केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
त्यसै गरी कृषि शाखा प्रमुख अवधेश कुमार चौधरीले नास्पाती खेतीको राम्रो सम्भावना रहेको उल्लेख गर्दै सही प्रविधिबाट कलमी गर्न सके उत्पादनमा उल्लेख्य वृद्धि गर्न सकिने बताउनुभयो ।
अभियानका क्रममा उन्नत जात छनोट, बिरुवा उत्पादन प्रक्रिया, उपयुक्त समय र तरिकाबाट कलमी गर्ने विधि तथा व्यावहारिक अभ्यास गराइएको थियो । सहभागी कृषकहरूले कार्यक्रम प्रभावकारी र उपयोगी भएको प्रतिक्रिया दिएका छन् ।





-1759842583.jpg)