रुकुम पश्चिमको सदरमुकाम मुसिकोटवासीले बजार क्षेत्रको फोहोर तत्काल व्यवस्थापन हुनुपर्ने माग राखेका छन् । आज मुसिकोट नगरपालिकाले वडा नम्बर १ को खलङ्गामा आयोजना गरेको फोहोर व्यवस्थापन सम्बन्धीको छलफलमा सहभागी मुसिकोटवासीले बजार क्षेत्रको फोहोर तत्काल व्यवस्थापनको माग गरेका हुन् ।
खलङ्गा लगायतका मुख्य बजारका चोक चोकमा फोहोर थुप्रिएको र त्यसले दुर्गन्ध फैलाएको भन्दै बजारवासीले तत्काल फोहोर उठाउन माग गरेका छन् । साथै उनीहरूले नगरपालिकाले फोहोर व्यवस्थापनको दिगो व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् । खुला रूपमा फोहोर फाल्दा त्यसबाट समस्या हुने भन्दै फोहोरलाई मोहरमा बदल्ने गरी योजना बनाउन सहभागीहरूको सुझाव छ ।
साथै कार्यक्रमका सहभागीहरूले फोहोरको वर्गीकरण भएमा फोहोर व्यवस्थापनमा सहज हुने विश्वास व्यक्त गरेका छन् । प्रत्येक घरबाटै फोहोरको वर्गीकरण भएमा त्यसको व्यवस्थापनमा सहज हुने भन्दै सहभागीहरूले नगरपालिकाले यसतर्फ विशेष जोड दिनुपर्ने बताएका छन् । साथै सहभागीहरूले फोहोर व्यवस्थापनमा नगरपालिका गम्भीर हुन नसकेको भन्दै दुःख समेत व्यक्त गरेका थिए ।
अहिले मुसिकोटको फोहोर उठ्न छाडेको छ । झन्डै एक महिना देखि मुसिकोटको मुख्य बजार खलङ्गा, बागबजार, शेरिगाउँ, सल्ले लगायतका बजारको फोहोर नउठ्दा बजारका चोक चोकमा फोहोरको थुप्रो नै लागेको छ । यसैबिच नगर प्रमुख महेन्द्र केसीले अहिले तत्काललाई फोहोर घरमै व्यवस्थापन गर्न र चोकमा नफाल्न अनुरोध गर्नुभएको छ ।
उक्त कार्यक्रममा बोल्दै उहाँले नगरपालिकाबाट १ महिना देखि फोहोर उठ्न नसकेको जानकारी गराउँदै उहाँले नगरपालिका फोहोर व्यवस्थापनको विकल्प खोजी गरिरहेको भन्दै केही समय घरमै फोहोर व्यवस्थापन गरेर राख्न र बाहिर नफाल्न आग्रह गर्नुभएको हो । ‘फोहोरको वर्गीकरण गरेर घरमै राख्नुहोस्, हामी फोहोर व्यवस्थापनका विकल्पका बारेमा छलफलमा छौँ, केही दिनमा फोहोर उठ्छ’’ उहाँले भन्नुभयो ।
ठाउँको अभाव भएपछि फोहोर व्यवस्थापनका लागि फोहोर उठाउने केही व्यक्ति तथा संस्थाहरूसँग छलफल भइरहेको र केही दिनमा टुङ्गियो भने घर घरबाट फोहोर उठ्ने उहाँले जानकारी गराउनुभयो । हाल वडा नम्बर १ को निपानेमा निर्माणाधीन डम्पिङ साइडको काम नसकिएकोले समस्या भएकामा केही महिनामा उक्त काम सकिने र त्यसपछि भने फोहोर व्यवस्थापनमा समस्या नरहने उहाँले बताउनुभयो ।
साथै उहाँले प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाउने सोचमा रहेको बताउनुभयो । नगरपालिकाले यसअघि प्लास्टिकका मालामा प्रतिबन्ध लगाएजस्तै प्लास्टिकको प्रयोगमा पनि प्रतिबन्ध लगाउने सोचमा रहेको नगर प्रमुख केसीले बताउनुभयो । यसबाट पनि मुसिकोटको फोहोरमा कमी आउने उहाँको विश्वास छ । यस बारेमा नगर कार्यपालिकाबाट निर्णय गर्ने योजना उहाँले सुनाउनुभयो ।
नगरपालिकाले हालसम्म मुसिकोट नगरपालिका वडा नम्बर २ को सतिपोलेमा फोहोर व्यवस्थापन गरिरहेकामा प्रदूषण फैलिएको भन्दै स्थानीयले अवरोध गरेपछि मुसिकोटको फोहोर उठ्न सकेको छैन । नगरपालिकाले त्यसपछि अल्पकालीन फोहोर व्यवस्थापनका लागि ठाउँको खोजी गरिरहे पनि हालसम्म प्राप्त गर्न सकेको छैन ।
फोहोर नउठ्दा समस्या भएपछि नगरपालिकाले आज मुसिकोटवासीसँग छलफल गरेको हो । उक्त छलफलमा नगर प्रमुख केसी सहित उपप्रमुख विमलकुमार पुन, निमित्त प्रमुख प्रशासकीय अधिकृत कुबेर केसी, वडाध्यक्ष राजनीतिक दल, बुद्धिजीवी, समाजसेवी तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका कानुन अधिकृत ललित बुढाले गर्नुभएको थियो ।





-1759842583.jpg)