रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले भूकम्प पछिको पुनर्निर्माणका लागि लाभग्राहीसँग सम्झौता जारी छ । २०८० कार्तिक १७ गतेको जाजरकोट भूकम्पबाट जिल्लामा बढी प्रभावित मध्येको एक सानीभेरी गाउँपालिकाले पुनर्निर्माणको सम्झौता तीव्र रूपमा गरिरहेको छ ।
अहिलेसम्म २ सय ८१ लाभग्राहीसँग सम्झौता सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । पालिकाका ११ वटै वडामा सम्झौता भइरहेको छ । फागुन १५ गतेसम्म झन्डै तीन सय लाभग्राहीसँग सम्झौता भएको र सम्झौता जारी रहेको गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा नम्बर ११ का ४९ लाभग्राहीसँग सम्झौता गरिएको छ । त्यस्तै वडा नम्बर ८ मा ४६, वडा नम्बर १० मा ४३, वडा नम्बर २ र ३ मा ३०/३०, वडा नम्बर ७ मा २३, वडा नम्बर ९ मा २०, वडा नम्बर १, ५ र ६ मा १२/१२ र वडा नम्बर ४ मा ४ लाभग्राहीसँग सम्झौता सम्पन्न भएको अध्यक्ष विष्टले बताउनुभयो ।
सरकारले घर पुनर्निर्माणका लागि ४ लाख अनुदान दिने भएको छ । भूकम्प प्रभावित अहिले पनि अस्थायी आवासमा बस्न बाध्य छन् । सरकारका तर्फबाट पुनर्निर्माणका लागि ढिलाइ भएपछि केही प्रभावितले आफै घर निर्माण गरिसकेका छन् । सरकारले पुनर्निर्माणमा ढिलाइ गरेपछि भूकम्प प्रभावितहरू आक्रोशित छन् ।
भूकम्प गएपछि सुरुमा पालको सहारामा बसेका यस क्षेत्रका भूकम्प प्रभावितहरू त्यसपछि केही चर्किएकै घरमा सरेका थिए । पछि सरकारले अस्थायी आवासका लागि २ किस्तामा पैसा दिएपछि भूकम्प प्रभावितले अस्थायी आवास निर्माण गरेका थिए ।
अस्थायी आवासकै लागि सरकारले पैसा दिन ढिलाइ गरेपछि निराश बनेका भूकम्प प्रभावितहरू भूकम्प गएको झन्डै ३ वर्ष पुग्न लाग्दा पनि सरकारका तर्फबाट पुनर्निर्माणमा ढिलाइ भएपछि थप निराश र आक्रोशित छन् ।





-1759842583.jpg)