रुकुम पूर्वको कमल तालबाट यो वर्ष कमलका जरा निकाल्न नपाइने भएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ५ मा अवस्थित कमल तालबाट यो वर्ष कमलका जरा निकाल्न नपाइने भएको हो । सिस्ने गाउँपालिकाले एक सूचना जारी गर्दै यो वर्ष कमलका जरा निकाल्न प्रतिबन्ध लगाएको छ । गाउँपालिकाले हरेक वर्ष कमलको जरा निकाल्न ठेक्का आह्वान गर्दै आइरहेको थियो ।
तर यस वर्ष भने कमलको फुलको सङ्ख्यामा वृद्धि गरी कमल दहको पर्यटकीय सौन्दर्ययता बढाउन गाउँ कार्यपालिकाको माघ २५ गतेको बैठकबाट कमलको संरक्षणका लागी गाउँपालिकाबाट ठेक्का आव्हान नगर्ने वा जरा ननिकाल्ने भनी निर्णय भएको ब्यहोरा गाउँपालिकाले सबैलाई जानकारी गराएको छ ।
गाउँपालिकाको निर्णय उल्लङ्घन गरी कमल दहका कतिपय स्थानबाट कमलको जरा निकाल्ने नजिकको पसलमा बेच्ने, चोरी निकासी गर्ने लगायतका अवैध कार्यहरू भइरहेको भन्ने सूचना प्राप्त भएकोले गाउँपालिकाको निर्णय विपरीत त्यस्ता अवैध कार्य नगर्न गाउँपालिकावासीमा अनुरोध गरेको छ ।
कमल दहको संरक्षण गर्न तथा जराको चोरी नगर्न वडा कार्यालयबाट समेत विभिन्न समयमा सूचना प्रवाह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले जारी गरेको सूचनामा उल्लेख छ । नियम विपरीत उल्लेखित कार्य गर्ने गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने उहाँले चेतावनी दिनुभएको छ ।
साथै गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई कमल दह क्षेत्रमा नियमित सुरक्षा गस्ती बढाइदिनुहुन आवश्यक सहयोग गर्न आग्रह समेत गरेको छ ।
पछिल्लो समय कमल ताललाई थप व्यवस्थित गराउँदै लगिएको छ । यसले गर्दा कमल ताल अवलोकनका लागि पुग्नेहरू बढ्दै गएका छन् भने कमलका जरा निकाल्ने कार्यलाई व्यवस्थित बनाइएपछि कमल ताल पालिकाको आम्दानीको स्रोत समेत बनेको छ । स्थानीय तह बन्नु पूर्व समिति मार्फत तालबाट कमलका जरा निकाल्ने र बिक्री गर्ने गरेका थिए ।
व्यवस्थित नहुँदा स्थानीयले आफूखुसी कमलका जरा निकाल्ने गरेका थिए । जसका कारण कमल लोप हुने जोखिम बढेको भन्दै गाउँपालिकाले यसमा लगाम लगाएको हो । औषधीय गुणयुक्त कमलको जराको माग व्यापक छ । कमलको जरा अचारको रूपमा प्रयोग हुन्छ । खानमा समेत स्वादिलो यसको प्रयोगबाट जन्डिस रोग निको हुने विश्वास छ । कमलका जरा देशका विभिन्न जिल्ला तथा विदेशसम्म पनि पठाइन्छ । कमलको जरा महँगोमा बिक्री हुने गरेको छ ।





-1759842583.jpg)