रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करार सेवा नवीकरणको लागि घुस लिएको र दिएको आरोपमा आज मेयर वादी र असिस्टेन्ट सब–इन्जिनियर शाहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
नगर प्रमुख वादीले आर्थिक वर्ष २०७९/०८० मा करार म्याद थप गरिदिने सर्तमा मोहन शाहसँग १ लाख घुस लिएकाे मुद्दामा उल्लेख छ । शाहले २०८० साउन ८ गते वादीको बैङ्क खातामा उक्त रकम जम्मा गरेको प्रमाणसमेत पेस भएको जनाइएको छ ।
आयोगका अनुसार घुस रकम दिएपछि शाहको असिस्टेन्ट सब–इन्जिनियर पदमा करार म्याद थप गरिएको थियो। तर पुनः आर्थिक वर्ष २०८२/०८३ का लागि नवीकरण गर्न थप रकम मागिएको र उपलब्ध गराउन नसकेपछि शाहलाई सेवाबाट हटाइएको उजुरीमा उल्लेख छ ।
अनुसन्धानबाट नगर प्रमुख वादीले आफ्नो पदको दुरुपयोग गर्दै सेवामा निरन्तरता दिलाइदिने नाममा घुस लिएको पुष्टि भएको आयोगको दाबी छ । उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर लगाइएको छ ।
उक्त कसुरमा बिगो १ लाख कायम गरी कैद, जरिवाना र घुस रकम जफतको माग गरिएको छ। साथै सार्वजनिक पदमा रहेका कारण थप सजायको माग पनि गरिएको छ ।
यस्तै, मोहन शाहले पनि पदमा निरन्तरता पाउन मोलाहिजा गरी घुस दिएको अभियोगमा सोही ऐनको दफा ३(३) अन्तर्गत कसुर गरेको ठहर गरिएको छ। उनीमाथि पनि बराबर बिगो कायम गरी कैद, जरिवाना र रकम जफतको माग गरिएको छ ।





-1759842583.jpg)