रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा प्रविधिमैत्री शिक्षाका लागि डिजिटल कक्षा कोठा व्यवस्थापन परियोजना लागु भएको छ । यसका लागि नगरपालिका र कर्णाली प्रदेश सरकारका बिचमा सम्झौता भएको छ। कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेत र चौरजहारी नगरपालिका बिचमा प्रविधिमैत्री शिक्षाका लागि डिजिटल कक्षाकोठा व्यवस्थापन परियोजना सञ्चालनका लागि द्विपक्षीय सम्झौता भएको छ ।
कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नवप्रवर्धन साझेदारी कार्यक्रमका लागि गरेको प्रस्तावमा चौरजहारी नगरपालिका छनोट भएको हो । छनोट भएपछि शुक्रवार सम्झौता गरिएको हो । चौरजहारी नगरपालिकाले प्रविधिमैत्री शिक्षाका लागि डिजिटल कक्षाकोठा व्यवस्थापन परियोजनाका लागि प्रस्ताव पेस गरेको थियो ।
नगरपालिकाको संक्षिप्त प्रस्तावपछि पूर्ण प्रस्ताव र प्रस्ताव प्रस्तुतीकरणका साथै निर्धारित सूचकको प्राप्ताङ्कका आधारमा चौरजहारी नगरपालिका छनोटमा परेको हो । शुक्रवार कर्णाली प्रदेश सरकारका सचिव लक्ष्मीकुमार बिक र चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
अब लगत्तै यो कार्यक्रम लागु हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो । उहाँका अनुसार यो परियोजना चालु आर्थिक वर्षका लागि मात्र हो । यस परियोजनाका लागि नगरपालिकामा कुल ७८ लाख बजेट आउने छ भने ४ वडा माविमा यो कार्यक्रम लागु हुने छ ।
वडा नम्बर २ को शीतल मावि चौरजहारी, वडा नम्बर ५ को मावि खहरे, वडा नम्बर ७ को मावि कोटजहारी र वडा नम्बर ११ को हिमालय मावि खोलागाउँमा कार्यक्रम सञ्चालन हुने छ । यस कार्यक्रमबाट सिकाई उपलब्धि वृद्धि गर्ने गरी डिजिटल बोर्ड, ब्याट्री व्याकअप लगायतका सामग्रीहरूको व्यवस्थापन हुने छ भने शिक्षकहरूको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो ।
यस परियोजनाको उद्देश्य १० प्रतिशत सिकाई उपलब्धि वृद्धि गर्ने, नवीनतम ज्ञान बढाउने, शिक्षकहरूको क्षमता विकास गर्ने, कक्षामा छुटेका विद्यार्थीहरूले विभिन्न माध्यमबाट पछि पनि पढ्न पाउने, शिक्षकको क्षमता विकास भई पाठ्य सामग्री निर्माण तथा त्यसको प्रचार प्रसारमा टेवा पुर्याउने रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार यस परियोजनाले प्रविधिमा आधारित शिक्षण सिकाइमा जोड दिने छ । समग्र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नगरपालिका यस परियोजनाका लागि छनोट भएको ढकालले जानकारी गराउनुभयो ।





-1759842583.jpg)