नेपाल विद्यार्थी संघ रुकुम पश्चिम बाँफिकोट गाउँपालिकाले विभिन्न माग राख्दै गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ । विकास निर्माणका अधुरा योजनाको पूर्णता, सुशासन, पारदर्शिता लगायतका विभिन्न माग सहित नेविसंघ बाँफिकोटले गाउँपालिकामा ज्ञापन पत्र बुझाएको हो ।
नेविसंघ बाँफिकोटले गाउँपालिकाको एम्बुलेन्स, एक्स्काभेटर, छिनखेतको दुग्ध डेरी, दुलीखोला, मैचुखोला बाख्रा फर्म, पिपल भैँसी फर्म, खिमाने अल्लो उद्योग, विद्यालय शिक्षक तथा कर्मचारी नियुक्तिमा भएको अनियमितताका विषयमा जवाफ माग गर्दै अलपत्र योजनाको तत्काल कार्यान्वयनको माग गरेको छ ।
साथै मुसिकोटको माछिमी देखि रेवता खोलासम्मको सडक कालोपत्रे, अटो तथा गाडीको भाडा दर कार्यान्वयन, गाउँपालिका भित्रका बजारमा रहेका पसलहरूको अनुगमन गर्ने तथा मूल्य सूचि राख्न, रिटेलिङ व्यापार रोक्न, सामाजिक सुरक्षा भत्ता घर घरमा वा पायक पर्ने केन्द्र टोलमा गएर वितरण गर्न पनि उसले गाउँपालिका समक्ष माग गरेको छ ।
महँगी तथा कालोबजारी नियन्त्रण गर्न, छिनखेत बजारमा यातायात व्यवस्थापन अव्यवस्थित भएकोले बसपार्क सञ्चालनमा ल्याउन, शिक्षा क्षेत्रमा नयाँ शैक्षिक सत्र देखि सुधार गरेर अघि बढ्न नेविसंघ बाँफिकोटको माग छ । आफूहरूको मागमा ७ भित्र सुधारका प्रयास सुरु नभएमा कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।
गाउँपालिकाका अनियमितताका विषयमा माथिल्लो निकायमा समेत जाने नेविसंघले बताएको छ । नेपाल विद्यार्थी संघका जिल्ला कार्यसमिति सङ्गठन विभाग संयोजक दीपेन्द्रराज कुसारी, बाँफिकोट अध्यक्ष विजय कुसारी, उपाध्यक्ष सुनिल शाही, सचिव नेत्रलाल खनाल, विद्यार्थी नेता कर्ण शाही लगायतको टोलीले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकासविक्रम शाहलाई ज्ञापन पत्र बुझाएको हो ।





-1759842583.jpg)