रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा नयाँ अटो तथा इ–रिक्सा दर्ता गर्न नपाइने भएको छ । मुसिकोट नगरपालिकाले अब देखि नयाँ अटो तथा इ–रिक्सा दर्तामा रोक लगाएको हो । अटो तथा इ–रिक्साको संख्या धेरै भएकोले व्यवस्थापनमा समस्या भएको भन्दै नगरपालिकाले अब नयाँ दर्तामा रोक लगाएको हो ।
मुसिकोट नगरपालिका क्षेत्र भित्र हालसम्म नगरपालिकाको नियमानुसार दर्ता गरी सञ्चालनमा आएका अटो तथा इ–रिक्साहरूको बढ्दो संख्याले वातावरण प्रदूषण, सडक साँघुरोको कारणले सवारी साधनको चाप र ट्राफिक जाम बढ्न गई आवागमनमा समेत कठिनाइ उत्पन्न भएकोले नयाँ दर्तामा रोक लगाइएको नगरपालिकाले जनाएको छ ।
साथै इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक सवारी साधन तथा यातायातमा पर्न गएको असहजता र कठिनाइको सम्बोधन गर्न सार्वजनिक सवारी साधनको यथोचित व्यवस्थापन गर्नुपर्ने देखिएकोले यस्तो निर्णय भएको नगरपालिकाले एक सूचना मार्फत जानकारी गराएको छ ।
प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले एक सूचना जारी गर्दै नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था विभागको जेठ ७ पत्रानुसार सवारी तथा यातायात व्यवस्था ऐन. २०४९ को दफा २४ को उपदफा (३) मा व्यवस्था भए बमोजिम आवश्यक देखिएमा दर्ता कार्य रोक्का राख्नु भनेर अनुरोध भई आएकोले अर्को सूचना जारी नगरे सम्म सोमबार आज देखी लागु हुने गरी नयाँ दर्तामा रोक लगाइएको जानकारी गराउनुभएको छ ।
पछिल्लो समय मुसिकोटमा अटो तथा इ–रिक्साको संख्या अत्यधिक भएकोले नगरपालिकालाई व्यवस्थापनमा समस्या भइरहेको छ । केही दिन अघि अटोमा क्षमता भन्दा बढी यात्रु बोक्ने अटोमा कडाइ गर्न सुरु गरिएपछि मुसिकोटका अटो व्यवसायीहरू आन्दोलित समेत बनेका थिए । साँघुरो सडक र सवारी साधनको चाप बढी हुँदा सवारी दुर्घटनाको जोखिम समेत बढ्दो अवस्थामा रहेको ट्राफिक प्रहरीको भनाई छ ।







-1759842583.jpg)