Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट १२ ले सार्वजनिक गर्‍यो ४ वर्षको प्रगति,  वडाले के काम गर्याे ४ वर्षमा ?

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १२ ले ४ वर्षको कार्य प्रगति सार्वजनिक गरेको छ । २०७९ को निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरूले पदभार ग्रहण गरेको ४ वर्ष पुगेको उपलक्षमा वडाले यस अवधिको कार्य प्रगति विवरण सार्वजनिक गरेको हो । वडाध्यक्ष धिरन शिर्पाली नेतृत्वको टोलीले २०७९ जेठ १२ गते पदभार ग्रहण गरेको थियो । 

सोही अवसरमा मंगलबार वडा कार्यालयमा एक कार्यक्रम गरी ४ वर्षको अवधिमा भए गरेका काम तथा त्यसको उपलब्धि लगायतका विषयमा जानकारी गराइएको हो । ४ वर्षमा वडामा कुल १० करोड ४२ लाख ९५ हजार ८ सय ५० रुपैयाँ खर्च भएको वडाध्यक्ष धिरन शिर्पालीले जानकारी गराउनुभयो । उक्त बजेट वडा मार्फत तथा विभिन्न निकाय मार्फत वडाको विकास निर्माणका लागि खर्च भएको उहाँले बताउनुभयो । 

मुख्य गरी सडक स्तरोन्नति, पिसिसि गोरेटो बाटो निर्माण, गोरेटो बाटो निर्माण, खानेपानी निर्माण, सिँचाइ निर्माण, विद्यालय भवन निर्माण, सामुदायिक भवन, सामुदायिक शौचालय, मन्दिर निर्माण, खेलाडी सम्मान, सुत्केरी स्याहार खर्च वितरण, स्वास्थ्य बिमा, बिउ विजन तथा प्रोत्साहन कार्यक्रम, पशु बिमा र ज्येष्ठ नागरिक तथा विपन्न परिवारका लागि काम भएको उहाँले जानकारी गराउनुभयो । 

आफूहरूले प्राथमिकता तय गरेर काम गरिरहेको वडाध्यक्ष शिर्पालीको भनाई छ । ‘हामी वडामा निर्वाचित भइसकेपछि यहाँको समग्र विकासका लागि के गर्न सकिन्छ भनेर लक्ष निर्धारण गरेका थियौँ, सबै क्षेत्रको विकास हुने गरी हामीले ५ वर्षे लक्ष लिएकामा उक्त लक्ष अनुसार नै ४ वर्षमा काम भएको छ, अझै १ वर्ष बाँकी छ, बाँकी लक्ष पुरा गर्छौँ,’ उहाँले भन्नुभयो ।

५ वर्षे लक्षको करिब ८३ प्रतिशत प्रगति हासिल भएको उहाँले बताउनुभयो । पूर्वाधार निर्माण देखि मानव संसाधन विकासका क्षेत्रमा लक्ष नै तोकेर यती काम गर्छौँ, यती जनालाई सेवा दिन्छौँ वा यति वटा विकास निर्माण गर्छौँ भनेर स्पष्ट लक्ष लिएको र ४ वर्षमा सोही अनुसार अघि बढेको उहाँको भनाई छ । केहीमा शतप्रतिशत उपलब्धि रहेको र केहीमा केही कम रहेको तर बाँकी रहेको १ वर्षमा तीनलाई पनि शतप्रतिशत पुर्‍याउने गरी काम भइरहेको उहाँले बताउनुभयो । 

वडावासी सबैको साथ र सहयोगबाट वडाले काम गरिरहेको र आगामी दिनमा समेत साथ पाउने वडाध्यक्ष शिर्पालीले विश्वास व्यक्त गर्नुभयो । काम गर्नका लागि एक वर्ष धेरै नै रहेको भन्दै उहाँले बाँकी रहेको १ वर्षमा वडाका अधुरा काम पूरा गर्न लागि पर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । सीमित बजेट नै वडाको विकासको प्रमुख चुनौती रहेको शिर्पालीको भनाई छ । तर वडाध्यक्षको हैसियतले आफूले लगातार पहल गरेर ठुला तथा दीर्घकालीन योजनामा प्रगति भइरहेको समेत उहाँको भनाई थियो । 

कार्यक्रममा सहभागी वडास्थित दलका प्रमुख तथा प्रतिनिधि एवं सरोकारवालाहरूले वडामा भइरहेको विकास र यसमा वडाको नेतृत्वको योगदानको प्रशंसा गरेका थिए । वडामा सबैतिर आधारभूत विकासको सुरुवात भएको र अब त्यसलाई दिगो बनाउन आवश्यक रहेकामा सहभागीहरूले सुझाव दिएका थिए । साथै उनीहरूले वडाका हरेक विकास निर्माणमा सम्बन्धित टोलीवासीको सहभागिता हुनुपर्ने र सुशासनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा वडा कार्यालय भवन निर्माणका लागि जग्गादाता लालबहादुर ओली, पत्रकारहरू मेगराज खड्का, मनिष खड्का र अमरराज पुनलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्य प्रगति सार्वजनिक कार्यक्रमको सञ्चालन वडा सचिव देवीलाल पुनले गर्नुभएको थियो । 

वडाले ४ वर्षमा के के काम गर्‍यो हेर्नुहोस 

 

 

प्रकाशित मिति: बुधबार, जेठ १३, २०८३  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update