Kakhara सबैको खबर सम्पूर्ण खबर
कार्यालय समयभित्र सामाजिक सञ्जाल प्रयोगमा रोक

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले कार्यालयमा सेवा प्रवाहलाई थप प्रभावकारी, मर्यादित तथा अनुशासित बनाउन कार्यालय समयभित्र सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको छ । कार्यालय बिहीबार एक सूचना जारी गर्दै कार्यालय समयभित्र सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको हो । बिहान १० बजेदेखि साँझ ४ बजेसम्म कार्यालयमा कार्यरत कर्मचारी तथा सेवाग्राहीले फेसबुक, टिकटक र युट्युब प्रयोगमा रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।

कार्यालय समयभित्र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले सेवा प्रवाहमा असर परेको भन्दै कार्यसम्पादनमा सुधार ल्याउन उक्त निर्णय गरिएको सानीभेरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले जानकारी  दिनुभयो । उहाँका अनुसार सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था लागू गरिएको हो । 

गाउँपालिकाले सम्बन्धित सबै कर्मचारी तथा सेवाग्राहीलाई सूचनाको पालना गर्न अनुरोध गरेको छ । साथै सेवाग्राहीलाई आवश्यक सूचना तथा सेवाका लागि वैकल्पिक व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ । सानीभेरी गाउँपालिकाको यो कदमले कार्यालयको कार्यक्षमता वृद्धि हुनुका साथै सेवाग्राहीले समयमै सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update