विश्व वातावरण दिवसको अवसरमा रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा विविध जनचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ । चौरजहारी नगरपालिकाको आयोजना तथा होप फर चिडे«नको समन्वयमा वातावरण संरक्षण, सरसफाइ तथा जलवायु परिवर्तनसम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको हो । दिवसको अवसरमा चौरजहारी नगरपालिका ३ को वडा कार्यालयबाट वडा नम्बर. २ को त्रिवेणी बजार, नयाँ बजार बसपार्क हुँदै वडा नम्बर १ को पुरानो बजार परिक्रमा गरी पुनः बसपार्क क्षेत्रमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
दिवसको अवसरमा वातावरण संरक्षणका सन्देश लेखिएका प्लेकार्डसहित सचेतनामूलक ¥याली निकालिएको थियो । कार्यममा सचेतनामूलक सडक नाटक र गीत समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका अध्यक्ष तथा चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जलवायु परिवर्तनका कारण विश्वभर पानीका मुहान सुक्दै जानु, प्राकृतिक स्रोतसाधनमा नकारात्मक असर पर्नु तथा वायु प्रदूषणका कारण मानिसहरू विभिन्न रोगको शिकार बन्नु चिन्ताको विषय भएको बताउनुभयो । वातावरण संरक्षणका लागि वृक्षारोपणलाई अभियानकै रूपमा अघि बढाउन, प्लास्टिकजन्य वस्तुको प्रयोग घटाउन तथा जथाभावी फोहोर नफाल्न सबैलाई उहाँले आग्रह समेत गर्नुभयो । कार्यत्रक्रमका अन्यसहभागिहरुले घर–आँगनदेखि सार्वजनिक स्थल, चौतारी, पाटीपौवा तथा सम्पूर्ण समुदायलाई स्वच्छ र सफा राख्न प्रत्येक नागरिकको समान जिम्मेवारी रहेकोमा जोड दिएका थिए ।
दिवसको अवसरमा नगरपालिकाका विभिन्न सार्वजनिक स्थानहरूमा फोहोर व्यवस्थापनका लागि डस्टबिन राखिनुका साथै बसपार्क क्षेत्रमा वृक्षारोपण कार्यक्रम समेत गरिएको छ । कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, आमा समूह, शिक्षक, विद्यार्थी, समाजसेवी, कर्मचारी, नगर प्रहरी तथा इलाका प्रहरी कार्यालयका प्रतिनिधिहरूको लगायतको सहभागिता रहेको थियो । विश्व वातावरण दिवसको अवसरमा जिल्लाको अन्य ठाउँमा पनि वृक्षारोपन, सरसफाइ, सचेतनामुलक कार्यक्रम गरी विश्व वातावरण दिवसको मनाइएको छ ।





-1759842583.jpg)