रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वास इकाईले आयोजना गरेको माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको कार्यालय खारानेटामा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।“स्वच्छ पानी र स्वच्छता, सभ्य समाजको पहिचान” शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा त्रिवेणी गाउँपालिका २ मा रहेको बाल शिक्षा माध्यमिक विद्यालय गैरिनेटाकी छात्रा चाँदनी खड्का प्रथम हुनुभएको छ ।
त्यस्तै त्रिवेणी गाउँपालिका ३ झुल्नेटामा रहेको युवा जनजागरण माविमा अध्ययनरत छात्रा सुधा ओली दोस्रो, जनप्रिय माध्यमिक विद्यालय पेउघामा अध्ययनरत छात्रा सृष्टि ओली तेस्रो र अन्धनाशक माध्यमिक विद्यालय खुम्चेरीमा अध्ययनरत छात्रा जानकी खड्का सान्त्वना भएको त्रिवेणी गाउँपालिका वास संयोजक सुवास केसीले जानकारी दिनुभयो । क्रमशः स्थान प्राप्त गर्ने विद्यार्थीले प्रथमले ८ हजार, दोस्रोले ६ हजार, तेस्रोले ४ हजार र सान्त्वना स्थान हासिल गर्नेलाई २ हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा गाउँपालिकाभित्रका ११ वटा माध्यमिक विद्यालयका २२ जना छात्र–छात्राले सहभागिता जनाएको वास संयोजक केसीले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले स्वच्छ खानेपानी, सरसफाइ, जनस्वास्थ्य तथा सभ्य समाज निर्माणमा स्वच्छताको भूमिकाबारे प्रस्तुत गरेका थिए । प्रतियोगिताले विद्यार्थीहरूमा स्वच्छ पानी र सरसफाइप्रतिको चेतना अभिवृद्धि गर्नुका साथै सार्वजनिक रूपमा आफ्ना विचार प्रस्तुत गर्ने क्षमता विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ ।
स्थानीय तहमा स्वच्छता र स्वास्थ्यसम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले विद्यार्थीहरूलाई सिर्जनात्मक तथा बौद्धिक प्रतिस्पर्धामार्फत सामाजिक उत्तरदायित्वबारे सचेत गराउन महत्त्वपूर्ण भूमिका खेलेको सहभागी विद्यार्थीहरूको भनाइ रहेको छ ।
गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारी, शिक्षा शाखा निमित्त प्रमुख सुरेश पुन, महिला विकास शाखा लगायत अन्य विषयगत शाखा लगायत सम्बन्धित विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो ।


1686475760.jpg)


-1759842583.jpg)