Kakhara सबैको खबर सम्पूर्ण खबर
बारेकोटमा सञ्चालन तथा मर्मत सम्भार सम्बन्धी अभिमुखीकरण कार्यशाला 

जाजरकोटको बारेकोट गाउँपालिकामा सञ्चालन तथा मर्मत सम्भार सम्बन्धी अभिमुखीकरण कार्यशाला सम्पन्न भएको छ ।  हेल्भेटास नेपाल र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा सञ्चालित एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम अन्तर्गत सञ्चालन तथा मर्मत सम्भार सम्बन्धी अभिमुखीकरण कार्यशाला सम्पन्न भएको हो । गाउँपालिकाको सभाहलमा आयोजित कार्यशालामामा परियोजनाको उद्देश्य, दिगोपना, प्रभावकारी सञ्चालन तथा सुचारु व्यवस्थापन सम्बन्धी अभिमुखिकरण भएको रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक कर्मचारी, उपभोक्ता समिति तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यशालामा परियोजनाअन्तर्गत निर्माण तथा सञ्चालनमा रहेका संरचनाहरूको नियमित सञ्चालन, मर्मत सम्भार, व्यवस्थापन तथा दीगो उपयोगका विषयमा सहजीकरण गरिएको उहाँको भनाई छ । साथै, स्थानीय तह, उपभोक्ता समिति र सम्बन्धित निकायहरूको भूमिका तथा जिम्मेवारीबारे पनि विस्तृत जानकारी गराइएको थियो । सहभागीहरूले सञ्चालन तथा मर्मत सम्भारसम्बन्धी ज्ञान, सीप र जिम्मेवारीबोध अभिवृद्धि गर्न कार्यशाला उपयोगी रहेको बताएका छन् । कार्यक्रमले परियोजनाबाट हासिल भएका उपलब्धिहरूलाई दीगो बनाउनुका साथै स्थानीय समुदायको स्वामित्व र उत्तरदायित्व बढाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।

एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रममार्फत जलस्रोतको संरक्षण, व्यवस्थापन तथा समुदायको जीवनस्तर सुधारमा सहयोग पुग्दै आएको रुकुमेली समाज विकास केन्द्रले जनाएको छ ।  यस्ता अभिमुखीकरण कार्यक्रमले परियोजनाको प्रभावकारी कार्यान्वयन र दीर्घकालीन सफलतामा थप टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update