Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट नगरपालिकाद्वारा नदीजन्य पदार्थ उत्खनन, संकलन तथा ओसारपसारमा रोक
फाइल फाेटाे ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका नदी, खोला तथा अन्य जलस्रोतबाट उत्खनन तथा संकलन गरिने नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा, ग्राभेल आदि) को उत्खनन, संकलन तथा ओसारपसार कार्यमा अस्थायी रूपमा रोक लगाएको छ । आज नगरपालिकाले एक सूचना जारी गर्दै नदीजन्य पदार्थ उत्खनन, संकलन तथा ओसारपसारमा रोक लगाएको हो । वर्षायामका बेला नदी तथा जलाधार क्षेत्रको संरक्षण, बाढी तथा पहिरोबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न, वातावरणीय सन्तुलन कायम राख्ने तथा प्रचलित कानुनको पालना गर्ने उद्देश्यले असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन, संकलन तथा ओसारपसार पूर्ण रूपमा बन्द गरिने नगरपालिको जनाएको छ । 

उक्त अवधिमा कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा निर्माण व्यवसायीले नदीजन्य पदार्थ उत्खनन, संकलन तथा ओसारपसार गरेको पाइएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४, वातावरण संरक्षण ऐन, २०७६ तथा खनिज पदार्थसम्बन्धी प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ । त्यस्तै, यसअघि उत्खनन गरी योजना निर्माणस्थलसम्म निकासी गरिएका नदीजन्य पदार्थको मौज्दात (स्टक) असार १० गतेभित्र नगरपालिकामा प्रमाणित गराउन तथा भदौ मसान्तसम्म उक्त स्टक शून्य गर्न समेत नगरपालिकाले सम्बन्धित पक्षलाई निर्देशन दिएको छ ।

निर्णयको पूर्ण पालना गरी सहयोग गर्न मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्यले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update