रुकुम पश्चिमको चौरजहारीमा ३ दिने व्यवसाय योजना तथा उद्यम विकास तालिम सम्पन्न भएको छ । गत मंगलबारबाट सुरु भएको उक्त तालिम आज सम्पन्न भएको हो । मानव विकास तथा सामुदायिक सेवा केन्द्र एचडिसीएस) द्वारा सञ्चालित राइज–अप परियोजना अन्तर्गत चौरजहारी नगरपालिकामा उक्त तालिम आयोजना गरिएको परियोजना अधिकृत सन्देश जैसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरू तथा उनीहरूका परिवारका सदस्य गरी २२ जनाको सहभागिता रहेको थियो । तालिम अपाङ्गता भएका व्यक्तिहरू तथा उनीहरूका परिवारको आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको उहाँको भनाई छ । राइज–अप परियोजनाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार, रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्यका साथ सीप विकास, आयमूलक तालिम तथा सामाजिक समावेशीकरणमा आधारित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको परियोजना अधिकृत जैसीले जानकारी दिनुभयो ।
तीन दिनसम्म संचालन भएको तालिममा व्यवसायको आधारभूत अवधारणा, स्थानीय स्रोतको पहिचान, लागत–मूल्य–नाफा विश्लेषण तथा व्यवसायको आधारभूत मोडेलका विषयमा सहजीकरण गरिनुका साथै व्यवसायका सबल पक्ष, दुर्बल पक्ष, अवसर र चुनौती सम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै लक्षित ग्राहक पहिचान, प्रतिस्पर्धी विश्लेषण, व्यवसाय छनोट प्रक्रिया तथा व्यवसाय योजना लेखन सम्बन्धी व्यावहारिक अभ्याससमेत गराइएको परियोजा अधिकृत जैसीले जानकारी दिनुभयो । तालिमको सहजीकरण कम नेपालका परामर्शदाता सञ्जय घले तथा मानव विकास तथा सामुदायिक सेवाका प्राविधिक संयोजक तारा हाङ तावाले गर्नुभएको थियो ।


1686475760.jpg)


-1759842583.jpg)