रुकुम पश्चिमको आठविसकोट नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिकाको रूपमा घोषणा गरिएको छ। “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता : पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ शुक्रवार नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो । आवश्यक सम्पूर्ण मापदण्ड तथा प्रक्रियाहरू पूरा गरेपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
नगर प्रमुख तथा पालिका खोप समन्वय समितिका अध्यक्ष रवि केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कालीबहादुर ओली, निमित्त प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडाध्यक्षहरू, स्वास्थ्य संस्था प्रमुख, स्वास्थ्यकर्मीहरू, विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख केसीले पूर्ण खोप वडा सुनिश्चितता तथा दिगोपनासम्बन्धी प्रमाणपत्र सम्बन्धित वडाध्यक्ष तथा स्वास्थ्यकर्मीहरूलाई वितरण गरेका गर्नुभएको थियो । साथै, पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दै सरोकारवालाहरूले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रमका सहभागीहरूले बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा सुनिश्चित गर्दै खोपबाट बच्न सकिने रोगहरूको नियन्त्रण तथा उन्मूलनमा सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेको बताएका थिए ।
पूर्ण खोप सुनिश्चितता अभियानलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन स्थानीय स्रोत, जनसहभागिता र संस्थागत प्रतिबद्धता महत्त्वपूर्ण रहने सहभागीको भनाइ थियो । नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको अवस्था कायम राख्न आगामी दिनमा समेत नियमित अनुगमन, सचेतनामूलक कार्यक्रम तथा स्वास्थ्य सेवाको प्रभावकारी व्यवस्थापनलाई निरन्तरता दिने जनाएको छ।


1686475760.jpg)


-1759842583.jpg)