Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपाको बहिष्कारपछि चौरजहारी नगर कार्यपालिका बैठक स्थगित, नगर सभा प्रभावित हुने सङ्केत 

रुकुम पश्चिमको चौरजहारी नगर कार्यपालिकाको ६३ औँ बैठक स्थगित भएको छ । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट लगायतका विषयमा छलफल गर्न आयोजित महत्त्वपूर्ण कार्यपालिका बैठक गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको हो । 

नेपाली कम्युनिस्ट पार्टीबाट निर्वाचित कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेपछि गणपूरक सङ्ख्या नपुगेको हो । आजको बैठकमा नेकपाका १२ जना उपस्थित नभएपछि गणपूरक सङ्ख्या नपुगेको भन्दै बैठक स्थगित भएको नगर कार्यपालिका प्रवक्ता खुमबहादुर खड्काले जानकारी दिनुभयो । 

आजको बैठकमा कार्यवाहक नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा नगर कार्यपालिका सचिव सहित १२ जना उपस्थित रहेको उहाँले बताउनुभयो । आजको बैठक आगामी वर्षको नीति कार्यक्रम तथा बजेटका लगायतका विषय स्वीकृत गर्नुपर्ने गरी आह्वान भएकोले महत्त्वपूर्ण रहेको उहाँको भनाई छ । 

chjr-nagarkaryapalika-1781953298.jpg
आजको बैठकमा नगर सभामा पेस गर्ने नीति तथा कार्यक्रम, बजेट, विनियोजन विधेयक २०८३, आर्थिक विधेयक २०८३, मध्यकालीन खर्च संरचना, प्रगति र आयव्यय, लेखा समितिको प्रतिवेदन र नागरिक सहभागिता तथा सार्वजनिक जबाफदेहिता कार्यविधि २०८३ स्वीकृत गर्ने कार्यसूची रहेको कार्यपालिका प्रवक्ता खड्काले जानकारी गराउनुभयो । 

अब अर्को बैठकका विषयमा छलफल चलिरहेको उहाँले बताउनुभयो । असार १० गतेभित्र नगर सभामा नीति कार्यक्रम तथा बजेट पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेकामा आजको बैठक स्थगित भएसँगै चौरजहारीको नीति तथा कार्यक्रम र बजेट प्रभावित हुने देखिएको छ । 

नेपाली कम्युनिस्ट पार्टी नेकपाका स्थानीय दल नेता तथा वडा नम्बर १३ का अध्यक्ष श्रीकृष्ण शर्माले आफूहरूका माग पूरा नभए नगर सभा नै बहुमतका आधारमा आफूहरूले चलाउने चेतावनी दिनुभयो । 

नगर कार्यपालिकाको गत वैशाख २३ गतेको कार्यपालिका बैठकबाट आफ्नो नेतृत्वमा अधिकार सम्पन्न अनुगमन तथा छानबिन समिति गठन गरिएकामा उक्त समितिको प्रतिवेदन कार्यान्वयन नहुँदासम्म नगर कार्यपालिका बैठकमा उपस्थित नहुने र नगर सभा सञ्चालन गर्न नदिने उहाँले बताउनुभयो । 

नगर सभामा प्रतिनिधित्व गर्ने सबै दल, कर्मचारी तथा सरोकारवालाको प्रतिनिधित्व रहने गरी गठित उक्त समितिले भूकम्प प्रभावितका लागि आएको राहतमा गडबड भएको, विव्यस गठन तथा पुनर्गठन, शिक्षक सरुवा, भर्ना, पदपूर्ति तथा शैक्षिक सामग्री खरिदमा अनियमितता भएको, राजस्व चुहावट भएको, गुणस्तरहीन योजना, मूल्याङ्कनमा समस्या लगायतका बेथिति पत्ता लगाएको उहाँले बताउनुभयो । 

यसमा संलग्नलाई कारबाही गरौँ भन्दा कार्यवाहक नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले नमानेपछि आफूहरूले आजको नगर कार्यपालिका बैठक बहिष्कार गरेको उहाँको भनाई छ । समितिको प्रतिवेदन कार्यान्वयन नगर्दासम्म कार्यपालिका बैठकमा नजाने उहाँले बताउनुभयो । 

यसरी त नगर सभा प्रभावित हुने देखियो नि भन्ने कखराको प्रश्नमा उहाँले ७५ सदस्यीय नगर सभामा आफूहरूको ५३ जना सहित आफूहरूको बहुमत रहेको भन्दै नेकपाको दलको नेता अथवा ज्येष्ठ नगर सदस्यको अध्यक्षतामा आफूहरूले नगर सभा बोलाउने तयारी गरेको बताउनुभयो । नीति कार्यक्रम र बजेट निर्माण भइरहेकाे उहाँकाे भनाई छ । 

आफूहरूसँग काँग्रेसबाट निर्वाचित नगर कार्यपालिका सदस्य तथा नगर सभा सदस्यहरू पनि रहेको उहाँले दाबी गर्नुभयो । नगर प्रमुख पुष्प वादी निलम्बनमा रहनुभएको छ भने उपप्रमुख ईश्वरीकुमारी शर्मा बिएमले अहिले नगरपालिकाको नेतृत्व गरिरहनुभएको छ ।

प्रकाशित मिति: शनिबार, असार ६, २०८३  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update