Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी गाउँपालिका  पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिकाको रूपमा घोषणा गरिएको छ । “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता ः पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ आइतबार गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो । आवश्यक सम्पूर्ण मापदण्ड तथा प्रक्रियाहरू पूरा गरेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा  गरिएको हो ।

गाउँपालिका अध्यक्ष तथा पालिका खोप समन्वय समितिका अध्यक्ष  गनेशकुमार केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर विक, पालिका उपाध्यक्ष राजकुमारी रेउले, स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कालिबहादुर आली,प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारी, विभिन्न वडाका वडाध्यक्षहरू, स्वास्थ्य संस्था प्रमुख, स्वास्थ्यकर्मीहरू, विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीहरूले बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा सुनिश्चित गर्दै खोपबाट बच्न सकिने रोगहरूको नियन्त्रण तथा उन्मूलनमा सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेको बताएका थिए । पूर्ण खोप सुनिश्चितता अभियानलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन स्थानीय स्रोत, जनसहभागिता र संस्थागत प्रतिबद्धता महत्त्वपूर्ण रहने सहभागीको भनाइ थियो । गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको अवस्था कायम राख्न आगामी दिनमा समेत नियमित अनुगमन, सचेतनामूलक कार्यक्रम तथा स्वास्थ्य सेवाको प्रभावकारी व्यवस्थापनलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार ७, २०८३  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update