Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी गाउँपालिकाले ल्यायो झन्डै ५५ करोडको बजेट

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ५४ करोड ९४ लाख ३९ हजार ९ सय ५६ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १५ औँ गाउँसभामा उपाध्यक्ष राजकुमारी रेउलेले  उक्त बजेट प्रस्तुत गर्नुभएको हो । उपाध्यक्ष रेउलेले प्रस्तुत गरेको बजेट अनुसार कुल विनियोजनमध्ये चालुतर्फ रु ३८ करोड ९६ लाख ३९ हजार ९ सय ५६ अर्थात् ७०.९२ प्रतिशत र पुँजीगततर्फ रु. १५ करोड ९८ लाख अर्थात् २९.०८ प्रतिशत बजेट  विनियोजन गरिएको छ ।

बजेटका लागि आन्तरिक राजस्वबाट रु. २ करोड, संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट रु. ८ करोड ७१ लाख, संघीय सशर्त अनुदानबाट रु. २५ करोड ५३ लाख तथा संघीय विशेष अनुदानबाट रु. १ करोड ६० लाख प्राप्त हुने अनुमान गरिएको छ ।त्यस्तै संघीय राजस्व बाँडफाँडबाट रु. ८ करोड ६५ लाख ७० हजार, प्रदेश सरकारको वित्तीय समानीकरण अनुदानबाट रु. १ करोड १३ लाख ८३ हजार, प्रदेश सशर्त अनुदानबाट रु. २ करोड ८५ लाख ७६ हजार, प्रदेश समपूरक अनुदानतर्फ रु. १ करोड तथा प्रदेश विशेष अनुदानतर्फ रु. १ करोड,  प्रदेश सरकार राजस्व बाँडफाँडतर्फ रु १६ लाख १० हजार ९ सय ५६   प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

यसका साथै आर्थिक वर्ष २०८२/०८३ मा खर्च नभई बचत हुने रु. १ करोड रकम समेत आगामी वर्षको स्रोतमा समावेश गरिएको उपाध्यक्ष रेउलेले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख गरिएको छ । उपाध्यक्ष रेउलेले सभामा प्रस्तुत गरेको उक्त बजेट आजै बहुमतले पारित भएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राख्दै बजेट कार्यान्वयन गर्ने जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update