Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटको नीति तथा कार्यक्रम: समृद्ध नगर निर्माण, राेजगारी सिर्जना र सामाजिक विकासमा जाेड

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति कार्यक्रम ल्याएको छ । नगरको १७ औँ अधिवेशन मार्फत नगरपालिको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको हो । नगर प्रमुख महेन्द्र केसीले पेस गरेको उक्त नीति कार्यक्रम नगर सभाले पारित समेत गरेको छ । 

मुसिकोट नगरपालिकाको प्रथम पञ्चवर्षीय आवधिक विकास योजनाले अङ्गीकार गरेको मुसिकोट नगर–खुसी नागरिक, समृद्ध सहरको दीर्घकालीन सोच अनुरूप नीति कार्यक्रम निर्माण गरिएको छ । 

नीति कार्यक्रम गुणस्तरीय जनशक्तिको उत्पादन र रोजगारी सिर्जना, उत्पादन र उत्पादकत्व वृद्धि, गुणस्तरीय पूर्वाधार निर्माण, दिगो विकास, पर्यावरणीय संरक्षण, सन्तुलन, समानता, गरिबी न्यूनीकरण, सुशासन र सार्वजनिक सेवामा नागरिकहरूको सहज पहुँच अभिवृद्धिमा नीति कार्यक्रम लक्षित रहेको छ । 

विगत वर्षका सफल नीति तथा कार्यक्रमहरूलाई नगरपालिकाले निरन्तरता दिएको छ । भने नीति कार्यक्रममा नगरवासीको जीवनस्तर उकास्ने कार्यक्रमहरूलाई उच्च प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले सार्वजनिक, ऐलानी, सरकारी प्रति जग्गाहरूको एकीकृत विवरण तयारी गरी व्यवस्थित अभिलेखीकरण गरी उपयोगमा ल्याउने, कृषि, आवास, वन तथा अन्य क्षेत्रको वैज्ञानिक वर्गीकरणका आधारमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गर्ने, सडकले ओगटेको जमिनको लगत कट्टा गर्ने र सार्वजनिक जग्गामा बनेका घर टहरा लगायतका संरचना हटाउने नीति लिएको छ । 

नक्सा पास नगरी अव्यवस्थित रूपमा बनाइएका घर टहरा हटाउने कार्यलाई निरन्तरता दिने, राजस्वलाई सहज बनाउने, व्यवस्थित सहरी विकासलाई प्रवर्द्धन गर्ने, कृषिलाई नगरको आर्थिक समृद्धि, खाद्य तथा पोषण सुरक्षा, रोजगारी सिर्जना तथा गरिबी न्यूनीकरणको प्रमुख आधारका रूपमा स्थापित गर्ने नीति लिइने उल्लेख छ । 

उच्च मूल्य प्राप्त हुने तरकारी, फलफूल, मसला, मौरी पालन, च्याउ तथा बीउ उत्पादन कार्यक्रमलाई विशेष प्राथमिकता दिइने, स्थानीय तथा लोपोन्मुख रैथाने बालीहरूको संरक्षण, प्रवर्द्धन तथा बीउ उत्पादन कार्यक्रमलाई प्राथमिकता दिने, कृषि सङ्कलन केन्द्र, गोदाम घर, चिस्यान केन्द्र, कृषि बजार पूर्वाधार निर्माण तथा स्तरोन्नति र कृषि उपजको ब्राण्डिङ, प्याकेजिङ, प्रशोधन तथा बजारीकरणका लागि पहल गर्ने नीति कार्यक्रममा उल्लेख छ । 

खेती बालीमा वन्यजन्तुको क्षति न्यूनीकरण, कृषि तथा पशु बिमा कार्यक्रम सञ्चालन, कृषकलाई उत्पादनका आधारित अनुदान दिने, माछा र दूधको सङ्कलन र चिस्यान केन्द्र बनाउने, पशु सुत्केरी स्याहार भत्ता उपलब्ध गराउने, कर सहुलियत शिविर सञ्चालन गर्ने, निःशुल्क व्यवसायीक तालिमहरू सञ्चालन गर्ने, मुसिकोट ४ को दाना र मुसिकोट १२ को डेरीका लागि प्रदेश र संघीय सरकार समक्ष पहल गर्ने पनि नीति नगरले लिएको छ । 

एक घर एक सिप अभियान चलाउने, नगर भरका पर्यटकीय स्थलको संरक्षण तथा प्रवर्द्धन गर्ने, धार्मिक, ऐतिहासिक, पर्यटकीय क्षेत्रको संरक्षण गर्ने, मुसिकोटमा बहुउद्देश्यीय ताल निर्माणको डिपिआर बनिसकेकोले निर्माणका लागि जग्गा अधिकरण र लगानी जुटाउने काम सुरु गर्ने, मुसिकोट ४ को मुसी दरबारको जग्गा नगरको स्वामित्वमा ल्याएर थप व्यवस्थित बनाउने र ठुली दह पुग्ने पहुँच मार्ग सहित अन्य संरचना निर्माणलाई प्राथमिकता दिने भनिएको छ ।

नगरका १४ वटा विद्यालयलाई नेतृत्वदायी विद्यालयका रूपमा छनोट गर्ने, युवाहरूको सीप, क्षमता, दक्षता र प्राविधिक ज्ञान विकास गरेर युवा रोजगारीको लागि प्राविधिक सहयोग गर्ने, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने, खानेपानी र सिँचाइको पहुँच विस्तार गर्ने, ज्येष्ठ नागरिकका अनुभवलाई प्रयोग गर्ने, कला संस्कृति संरक्षणलाई पनि नगरपालिकाले प्राथमिकता दिएको छ । 

त्यस्तै २०८० कार्तिक १७ गतेको जाजरकोट भूकम्पबाट क्षति भएका सरकारी तथा व्यक्तिगत भौतिक संरचनाहरूको डिडिए भइसके पनि पुनर्निर्माण र प्रबलीकरण सुरु हुन नसकेको अवस्थामा तत्कालै सुरु गर्नका लागि संघ र प्रदेश सरकार तथा अन्य दातृ निकाय समक्ष पहल गर्ने र निर्माण भएका घरको भुक्तानीका लागि पहल गर्ने भनिएको छ । 

बसपार्क, मोटरेबल पुल लगायतका अधुरा योजनाको पूर्णतालाई प्राथमिकता दिने, अटो रिक्सा व्यवस्थापन, मुसिकोटका फोहोर व्यवस्थापन तथा खानेपानीको उपलब्धतामा विशेष ध्यान दिने, पूर्ण विद्युतीकरण, भवन नभएका वडाका भवन निर्माण, वन तथा वातावरण संरक्षण, विपत् व्यवस्थापनका क्षेत्रमा पनि नगरपालिकाले विशेष प्राथमिकता दिने गरी नीति कार्यक्रम तय गरेको छ । 

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update