Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट नगरपालिकाको आगामी वर्षको बजेट झन्डै ७४ करोड 

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि झन्डै ७४ करोड बराबरको बजेट ल्याएको छ । आज भएको १७ औँ नगर अधिवेशनमा नगर उपप्रमुख विमलकुमार पुनले बजेट पेस गर्नुभएको हो । 

नगरपालिकाले आगामी वर्षका लागि कुल ७३ करोड ७३ लाख, २३ हजार ८ सय ४८ रुपैयाँ बजारको बजेट ल्याएको छ । कुल बजेट मध्ये चालु तर्फ ५१ करोड ७९ लाख २३ हजार ८ सय ४८ रुपैयाँ अर्थात् कुल बजेटको ७० प्रतिशत रहेको छ । विकासे अर्थात् पुँजीगत बजेट २१ करोड ९४ लाख अर्थात् ३० प्रतिशत रहेको छ । 

विनियोजित कुल बजेट मध्ये संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान ११ करोड ८० लाख, राजस्व बाँडफाँड १० करोड ७३ लाख ८७ हजार, विशेष अनुदान १ करोड ८० लाख, सशर्त अनुदान ३२ करोड ५७ लाख र समपूरक अनुदान मार्फत १ करोड २७ लाख प्राप्त हुने अनुमान गरिएको छ । 

प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड ६२ लाख ४३ हजार, राजस्व बाँडफाँड २३ लाख ६७ हजार ८ सय ४८, सशर्त अनुदान चालु ३६ लाख २६ हजार, सशर्त अनुदान पुँजीगत ५ करोड २० लाख, विशेष अनुदान ७५ लाख र समपूरक अनुदान मार्फत १ करोड २० लाख प्राप्त हुने अनुमान गरिएको छ । 

त्यस्तै स्थानीय सरकार नगरपालिका राजस्व बाँडफाँड स्थानीय सरकार १ करोड र नगरपालिकाको आन्तरिक स्रोत २ करोड ६० लाख र चालु आर्थिक वर्ष २०८२/०८३ को बाँकी मौज्दात रकम २ करोड ५८ लाख पनि आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएको छ । 

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update