रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत करार कर्मचारी तथा करार शिक्षकको मासिक तलब–भत्तामा वृद्धि गर्ने घोषणा गरेको छ। बुधबार गाउँपालिकाको बजेट वक्तव्य प्रस्तुत गर्दै उपाध्यक्ष राजकुमारी रेउलेले सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउन योगदान पुर्याइरहेका करार कर्मचारी तथा शिक्षकहरूको मनोबल उच्च राख्न उक्त व्यवस्था गरिएको बताउनु भयो ।उहाँले प्रस्तुत गरेको बजेटअनुसार गाउँपालिकामा कार्यरत सम्पूर्ण करार कर्मचारी तथा करार शिक्षकहरूको मासिक तलब–भत्तामा प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ वृद्धि गरिनेछ।
बढ्दो महँगीलाई मध्यनजर गर्दै गरिएको यस निर्णयले कर्मचारी तथा शिक्षकको पेशागत उत्साह अभिवृद्धि भई सार्वजनिक सेवा प्रवाह र शैक्षिक गुणस्तर सुधारमा सकारात्मक प्रभाव पर्ने विश्वास गाउँपालिकाले लिएको छ । त्यस्तै, समान तहका करार कर्मचारीबीच तलब–भत्तामा असमानता रहेको गुनासोलाई सम्बोधन गर्न अध्ययन तथा सिफारिसका लागि एक समिति गठन गरिने भएको छ । समितिको प्रतिवेदनका आधारमा आवश्यक तलब–भत्ता समायोजन गरी देखिएका समस्या समाधान गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
गाउँपालिकाले कार्यसम्पादन र नतिजामा आधारित प्रणालीलाई थप प्रभावकारी बनाउँदै उत्कृष्ट नतिजा हासिल गर्ने शाखा तथा कर्मचारीलाई प्रोत्साहन गर्ने नीति समेत अवलम्बन गरेको जनाएको छ। सभामा बुधबार गाउँपालिका उपाध्यक्ष रेउलेले प्रस्तुत गरेको ५४ करोड ९४ लाख ३९ हजार ९ सय ५६ रुपैया बजेट सर्वसम्मत पारित समेत भएको छ ।







-1759842583.jpg)