Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य परीक्षण तथा फिजियोथेरापी सेवा 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य परीक्षण तथा फिजियोथेरापी सेवा प्रदान गरिएको छ । मानव विकास तथा सामुदायिक सेवा अन्तर्गत सञ्चालित राइज–अप परियोजनाको आयोजनामा तथा चौरजहारी नगरपालिकाको समन्वयमा अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य परीक्षण तथा फिजियोथेरापी सेवा प्रदान  गरिएको हो । 

वडा नम्बर १३ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अपाङ्गता भएका व्यक्तिहरूको रक्त समूह परीक्षण, मधुमेह परीक्षण, र परीक्षण, तौल जाँच लगायतका आधारभूत स्वास्थ्य परीक्षणहरू गरिएको राइज–अप परियोजना अधिकृत सन्देश जैसीले जानकारी दिनुभयो । उहाँका अनुसार सहभागीहरूलाई आवश्यकताअनुसार फिजियोथेरापी सेवा, स्वास्थ्य परामश तथा स्वास्थ्य सम्बन्धी सुझावहरू समेत प्रदान गरिएको थियो । कार्यक्रममा चौरजहारी अस्पतालका डाक्टर उत्साह थापा, परियोजना अधिकृत जैसी, फिजियोथेरापिस्ट उर्मिला शर्मा सहित ६ जनाको स्वास्थ्यकर्मीको टोली खटिएको थियो ।  स्वास्थ्य परीक्षण कार्यक्रममा ६७ जना अपाङ्गता भएका व्यक्तिहरूले सेवा लिएकाथिए भने जसमा २३ जना पुरुष र ४४ जना महिला रहेका थिए । स्थानीय स्तरमै स्वास्थ्य परीक्षण तथा पुनःस्थापना सम्बन्धी सेवा उपलब्ध गराइएकामा सहभागीहरू तथा उनीहरूका परिवारले खुसी व्यक्त गरेका थिए । 

अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने तथा समयमै स्वास्थ्य समस्याको पहिचान र व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।  मानव विकास तथा सामुदायिक सेवाले अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य, पुनःस्थापना तथा सामाजिक समावेशीकरणका क्षेत्रमा आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने परियोजना अधिकृत जैसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update