रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५७ करोड २३ लाख ८२ हजार पाँच सय बराबरको बजेट तथा नीति–कार्यक्रम पारित गरेको छ । नगरपालिकाको २३ औँ नगरसभामा कार्यवाहक नगरप्रमुख ईश्वरी शर्माले बुधबार प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि व्यापक छलफल भएपछि सभाले सर्वसम्मत रूपमा नीति कार्यक्रम पारित गरेको हो । त्यस्तै नगर कार्यपालिका सदस्य तथा आर्थिक विकास समितिका सभापति श्रीकृष्ण शर्माले प्रस्तुत गर्नुभएको बजेटसमेत नगरसभाबाट अनुमोदन गरिएको छ ।
पारित बजेटअनुसार चालुतर्फ ४४ करोड ११ लाख ५३ हजार ४ सय ७० रुपैयाँ र पुँजीगततर्फ १३ करोड १२ लाख २९ हजार ३० रुपैयाँ विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षको खर्च व्यवस्थापनका लागि आन्तरिक राजस्वबाट २ करोड ६९ लाख ८० हजार रुपैयाँ तथा बैंक मौज्दात (अल्या) बाट २ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । संघीय सरकारबाट समानीकरण अनुदान १० करोड ५० लाख रुपैयाँ, सशर्त अनुदान (चालु) २४ करोड ५६ लाख रुपैयाँ, समपूरक अनुदान (पुँजीगत) ३५ लाख रुपैयाँ, विशेष अनुदान (चालु) ८५ लाख रुपैयाँ तथा राजस्व बाँडफाँडतर्फ ९ करोड ७० लाख ७६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरी स्थानीय तह राजस्व बाँडफाँडअन्तर्गत दहत्तर–बहत्तर शुल्कबाट ३० लाख रुपैयाँ र मालपोत तथा रजिष्ट्रेशन शुल्कबाट ३९ लाख रुपैयाँ गरी ६९ लाख रुपैयाँ राजस्व प्राप्त हुने प्रक्षेपण गरिएको छ ।
कर्णाली प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड ४० लाख ३० हजार रुपैयाँ, सशर्त अनुदान (चालु) १८ लाख ७५ हजार रुपैयाँ, सशर्त अनुदान (पुँजीगत) ३ करोड ७० लाख रुपैयाँ, विशेष अनुदान ३५ लाख रुपैयाँ तथा समपूरक अनुदान (पुँजीगत) ५० लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ । प्रदेश सवारी साधन करबाट १८ लाख २१ हजार ५ सय रुपैयाँ आय प्राप्त हुने अनुमान बजेटमा उल्लेख गरिएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा विकास निर्माण, सेवा प्रवाह, कृषि, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै बजेट व्यवस्थापन गरेको जनाएको छ । नगरसभाबाट पारित नीति तथा कार्यक्रम र बजेटले नगरवासीको जीवनस्तर उकास्ने, उत्पादन र रोजगारी वृद्धि गर्ने तथा आधारभूत सेवामा नागरिकको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ । नगरसभामा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो । आगामी आर्थिक वर्षका लागि पारित बजेटले चौरजहारी नगरपालिकाको समग्र विकासलाई थप गति दिने विश्वास गरिएको छ ।







-1759842583.jpg)