Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी गाउँपालिकाको ५५ करोड बढीको बजेट सार्वजनिक, कृषि, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकता
उपाध्यक्ष रोका । फोटो नारायण ओली ।

सानीभेरी गाउँपालिकाको ५५ करोड बढीको बजेट सार्वजनिक, कृषि, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकता
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ५५ करोड ८ लाख २४ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । गाउँपालिकाको १९ औं गाउँसभामा उपाध्यक्ष कमला रोका पुनले बजेट प्रस्तुत गर्दै विकास निर्माण, कृषि उत्पादन वृद्धि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । सार्वजनिक बजेट अनुसार कुल विनियोजित रकममध्ये चालुतर्फ ३९ करोड ३३ लाख ९२ हजार ४३२ रुपैयाँ अर्थात७१.४१ प्रतिशत र पुँजीगततर्फ १५ करोड ७४ लाख ३१ हजार ५६८ रुपैयाँ अर्थात २८.५८ प्रतिशत बजेट विनियोजन गरिएको छ । 
गाउँपालिकाले आगामी वर्षका लागि विभिन्न स्रोतबाट आम्दानी हुने प्रक्षेपण गर्दै आन्तरिक राजस्वबाट १ करोड १२ लाख ८६ हजार रुपैयाँ, स्थानीय तह राजस्व बाँडफाँडबाट ३० लाख रुपैयाँ, संघीय राजस्व बाँडफाँडबाट ९ करोड ७९ लाख रुपैयाँ, संघीय समानीकरण अनुदानबाट ९ करोड ४२ लाख रुपैयाँ तथा कर्णाली प्रदेश राजस्व बाँडफाँडबाट १५ लाख ४० हजार ८३५ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।  त्यस्तै संघीय सरकारबाट प्राप्त हुने शसर्त अनुदान चालुतर्फ २१ करोड ९७ लाख रुपैयाँ, पुँजीगततर्फ २ करोड ९६ लाख रुपैयाँ, विशेष अनुदान चालुतर्फ १ करोड रुपैयाँ, समपूरक अनुदान पुँजीगततर्फ १ करोड ५५ लाख रुपैयाँ विनियोजन हुने अपेक्षा गरिएको छ ।

प्रदेश सरकारतर्फबाट समानीकरण अनुदान १ करोड २० लाख ५४ हजार रुपैयाँ, समपूरक अनुदान १ करोड १९ लाख रुपैयाँ, शसर्त अनुदान पुँजीगततर्फ २ करोड ७५ लाख रुपैयाँ, शसर्त अनुदान चालुतर्फ १६ लाख २४ हजार रुपैयाँ तथा विशेष अनुदान पुँजीगततर्फ ५० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षको १ करोड रुपैयाँ नगद मौज्दात समेत आगामी वर्षको स्रोतका रूपमा समावेश गरिएको बजेट व्यत्तव्यमा उल्लेख गरिएको छ । 
गाउँपालिकाले सार्वजनिक गरेको बजेटले स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना, आधारभूत सेवा विस्तार तथा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ । सीमित स्रोतसाधनका बीच समावेशी विकास, सेवा प्रवाहको प्रभावकारिता र आर्थिक समृद्धिलाई केन्द्रमा राखेर बजेट ल्याइएको गाउँपालिकाको जनाएकाे छ । 

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update