रुकुम पश्चिमका सबै पालिकाहरूले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट सभामा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकाले तोकिएकै समयमा नीति कार्यक्रम र बजेट ल्याएका हुन् ।
सबै पालिकाले नीति तथा कार्यक्रम सभाबाट पारित समेत गरिसकेका छन् भने केही पालिकाले बजेट पास गर्न बाँकी छ । केही पालिकाले भने पारित गरिसकेका छन् । १० गतेभित्र सभामा पेस भएको नीति तथा कार्यक्रम र बजेट असार मसान्तसम्म पारित गर्न पाउँछन् ।
केही पालिकाले डल्लो बजेट ल्याएका छन् भने त्यसलाई ब्रेक डाउन गरेर पारित गर्न बाँकी रहेको बताएका छन् । केही पालिकाले भने योजना गत बजेट ल्याएका छन् भने त्यसमा छलफल पश्चात् पारित गरिसकेका हुन् । नीति कार्यक्रम तथा बजेट सभाबाट पारित भएपछि मात्र कार्यान्वयन हुने व्यवस्था छ ।
यसरी पास हुने नीति तथा कार्यक्रम र बजेट साउन १ गतेबाट लागु हुन्छ । जिल्लाको चौरजहारी नगरपालिकाले सबै भन्दा ठुलो ८० करोड ८ लाख ४५ हजार ९ सय ३० रुपैयाँ बराबरको बजेट ल्याएको छ । यद्धपी यसमा नगरमा कार्यरत संघसंस्थाहरुको बजेट समेत सामेल छ । सबैभन्दा बढी बजेट मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस) को २२ करोड ७२ लाख ८९ हजार रहेको छ ।
नगरपालिका मार्फत कार्यान्वयन हुने बजेट भने ७५ करोड २३ लाख ८२ हजार ५ सय रहेको छ । जसमा चालु तर्फ ४४ करोड ११ लाख ५३ हजार ४ सय ७० रहेको छ भने पुँजीगत तर्फ १३ करोड १२ लाख ३४ हजार ३० रुपैयाँ रहेको छ ।
जिल्ला सदरमुकाम समेत रहेको मुसिकोट नगरपालिकाले ७३ करोड ७३ लाख २३ हजार ८ सय ४८ रुपैयाँ बराबरको बजेट ल्याएको छ । चालु तर्फ ५१ करोड ७९ लाख २३ हजार ८ सय ४८ रुपैयाँ अर्थात ७० प्रतिशत र पुँजीगत तर्फ २१ करोड ९ लाख अर्थात् ३० प्रतिशत बजेट रहेको छ ।
आठबिसकोट नगरपालिकाले ७१ करोड ३७ लाख ४७ हजार रुपैयाँ बराबरको बजेट नगर सभामा पेस गर्दै पारित समेत गरेको छ । गाउँपालिका तर्फ सानीभेरी गाउँपालिकाको बजेट बढी छ । उसले कुल ५५ करोड ८ लाख २४ हजारको बजेट ल्याएको छ । जसमा चालु तर्फ ३९ करोड ३३ लाख ९२ हजार ४ सय ३२ रुपैयाँ र पुँजीगत तर्फ १५ करोड ७४ लाख ५ सय ६८ रुपैयाँ रहेको छ ।
त्रिवेणी गाउँपालिकाकाले ५४ करोड ९४ लाख ३९ हजार ९ सय ५६ रुपैयाँ बराबरको बजेट ल्याएको छ । कुल बजेट मध्ये चालु तर्फ ३८ करोड ९६ लाख ३९ हजार ९ सय ५६ अर्थात् ७०.९२ प्रतिशत र पुँजीगत तर्फ १५ करोड ९८ हजार अर्थात् २९.०८ प्रतिशत रहेको छ ।
बाँफिकोट गाउँपालिकाले आगामी वर्षका लागि ५० करोड ३४ लाख ३६ हजार ६ सय रुपैयाँको बजेट ल्याएको छ ।








-1759842583.jpg)