Kakhara सबैको खबर सम्पूर्ण खबर
उपप्रमुखको कार्यकक्षमा तालाबन्दी, नगरपालिकाको आपत्ति

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा तालाबन्दी गरिएको छ । उप प्रमुख धनकुमारी शाहीको कार्यकक्षमा मङ्गलवार केही व्यक्तिले तालाबन्दी गरेका हुन् । नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक सेवा प्रवाह भइरहेको समयमा केही व्यक्तिहरूले गरेको होहल्ला, गालीगलौज तथा नगर उपप्रमुख शाहीको कार्यकक्षमा गरिएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

आर्थिक वर्ष २०८२/०८३ अन्त्यतिर विभिन्न योजना तथा कार्यक्रमको भुक्तानी र सार्वजनिक सेवा प्रवाहको काम भइरहेका बेला केही व्यक्तिहरूले कार्यालयमा प्रवेश गरी सेवा प्रवाहमा अवरोध पुर्‍याएको उल्लेख गरेको गरिएको छ । माग तथा असन्तुष्टि राख्ने नाममा कानुन र निर्धारित प्रक्रिया विपरीत दबाब सिर्जना गर्ने, होहल्ला गर्ने तथा उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने कार्यका कारण सार्वजनिक सेवा प्रभावित भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले यस्ता गतिविधिलाई गम्भीर रूपमा लिँदै संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने समेत जनाएको छ । साथै जनप्रतिनिधि तथा कर्मचारीहरूको मनोबल र संस्थाको गरिमा कायम राख्न सबै पक्षलाई संयमित, जिम्मेवार र कानुनसम्मत व्यवहार गर्न  निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

प्रकाशित मिति: बुधबार, असार १७, २०८३  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update