रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा रहेका ग्यास पसलहरूमा अनुगमन गरिएको छ । ग्यासको अभाव देखिएपछि मुसिकोट नगरपालिकाकाले जिल्ला सदरमुकामका विभिन्न बजारमा रहेका ग्यास पसलहरूमा अनुगमन गरेको हो ।
२ वटा डिलर सहित २१ वटा पसलमा अनुगमन गरिएको नगरपालिकाका नगर अनुगमन समितिका सदस्य सचिव चन्द्रा खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला सदरमुकाममा आधिकारिक २ वटा डिलर मात्र रहेको भए पनि अनधिकृत पसलहरूमा समेत ग्यास बिक्री भइरहेको पाइएको छ ।
कानुनी रूपमा मान्यता प्राप्त नगरेका पसलहरूबाट समेत ग्यास बिक्री वितरण गर्दा समस्या भएको पाइएको उहाँको भनाई छ । आधिकारिक डिलरहरूले विभिन्न पसलमा ग्यास बिक्री गर्दा उपभोक्ताहरूले ग्यास पाउन समस्या भइरहेको भेटिएको उहाँले जानकारी गराउनुभयो ।
नगरपालिकाले डिलरहरूलाई अब देखि कानुनी रूपमा मान्यता नपाएका जस्तै प्यान नम्बर नभएका र दर्ता नभएका पसलहरूमा ग्यास बिक्री नगर्न सचेत बनाएको छ । यसका साथै डिलरहरूले सल्यानबाटै ग्यास बिक्री गर्दै जिल्ला आउने गरेको पाइएकोले अबका दिनमा यस्तो नगर्न र जिल्लामा मात्र ग्यास बिक्री वितरण गर्न निर्देशन दिइएको छ ।
-1783846713.jpeg)
अब देखि सहज वातावरणमा ग्यास बिक्री वितरणको वातावरण मिलाउन र कृत्रिम अभाव तथा कालोबजारीको अवस्था सिर्जना हुन नदिन ध्यान दिन सचेत बनाइएको खड्काले बताउनुभयो । डिलरहरूलाई ग्यास आपूर्तिमा समेत ध्यान दिन भनिएको छ ।
त्यस्तै कानुनी रूपमा ग्यास बिक्री वितरणका लागि अनुमति नलिएका पसलहरूलाई अब देखि ग्यास बिक्री वितरण रोक्न नगरपालिकाले निर्देशन दिएको छ । अब पनि त्यस्तो पाइएमा कानुन अनुसार कारबाही गर्ने नगरपालिकाले चेतावनी दिएको छ ।
खाली सिलिन्डर बिक्री वितरण गर्दा समेत समस्या भइरहेको भेटिएको अनुगमन टोलीले जानकारी गराएको छ । नगर अनुगमन समितिले यो समस्या हल गर्न प्रमुख जिल्ला अधिकारीलाई मातहतको निकायमा लेखि पठाउन तथा ग्यास बिक्रेताहरूसँग छलफल गर्न सुझाव समेत दिएको छ ।
डिलरहरूले भने माथिबाटै कम्पनीले ग्यास ढिलो गरी पठाउँदा समस्या भएको बताएका छन् । साधन नभएको लगायतका कारण देखाउँदै कम्पनीले नै ढिलो गरी ग्यास पठाउन थालेपछि जिल्लामा ग्यास आयातमा समस्या देखिएको र यसमा आफूहरूको कुनै गल्ती नभएको बताएका छन् ।
भेरी ग्यासका आधिकारिक विक्रेता यज्ञ खत्रीले कम्पनीले एक साता देखि जिल्लामा ग्यास नपठाएका कारण समस्या भएको बताउनुभयो । आफूहरूले आएको ग्यास सबै उपभोक्ताहरूलाई बिक्री गरिरहेको उहाँको भनाई छ । कम्पनीले विभिन्न कारण देखाएर ढिलो ग्यास पठाएका कारण जिल्लामा पछिल्लो समय समस्या देखाएको उहाँले बताउनुभएको छ ।
यो पनि पढ्नुहोस
नगर, प्रशासन, प्रहरी, उद्योग वाणिज्य सङ्घ तथा अन्य सरोकारवाला सहितको टोलीले अनुगमन गरेको हो । ग्यासका लागि मुसिकोट खलङ्गाको एक पसलमा हिजो साँझ ठुलो भिड लागेको थियो । अवस्था असहज बनेपछि प्रहरी परिचालन गरेर ग्यास बिक्री गर्नु परेको थियो । यस विषयमा गृह मन्त्रालयले समेत चासो व्यक्त गरेको छ ।
प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले यसबारेमा मन्त्रालय सहित सम्बन्धित निकायमा जानकारी गराइसकिएको र ग्यासको सहज आपूर्ति र बिक्री वितरणका लागि प्रशासनले पहल गरिसकेको बताउनुभएको छ ।








-1759842583.jpg)