रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले लक्ष भन्दा बढी राजस्व सङ्कलन गरेको छ । बितेको आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकाले राजस्वको लक्ष भन्दा बढी राजस्व सङ्कलन गरेको हो । नगरपालिकाले एक वर्षमा कुल ५ करोड ५४ लाखको लक्ष लिएको थियो ।
नगरपालिकाले लक्ष भन्दा २८ लाख ४६ हजार आठ सय ६८ रुपैयाँ बढी अर्थात् ५ करोड ८२ लाख ४६ हजार ८ सय ६८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले बितेको वर्ष तोकिएको राजस्वको लक्ष पूरा गर्न सफल भएको नगरपालिकाका प्रशासन सहायक जयबहादुर बुढाले जानकारी दिनुभयो ।
वडा कार्यालय, नगरपालिका, विषयगत शाखा तथा सम्पूर्ण नगरवासीका कारण आन्तरिक आम्दानीको प्रमुख स्रोत राजस्वको लक्ष पूरा गर्न सफल भएको उहाँको भनाई छ ।
कुन शीर्षकमा कति राजस्व ?
उहाँका अनुसार नगरपालिकाले एक वर्षको अवधिमा सम्पत्ति कर पाँच लाख ८३ हजार दुई सय ४३, भूमिकर/मालपोत २८ लाख ६२ हजार एक सय ७६, बहाल कर १४ लाख ७६ हजार आठ सय १६, बहाल विटौरी कर सात लाख ६५ हजार ७४ र कृषि तथा पशुपक्षीजन्य वस्तुको व्यावसायिक कारोबारमा लाग्ने कर दुई लाख ८८ हजार ९५ रुपैयाँ सङ्कलन गरेको छ ।
अन्य कर १६ लाख ९२ हजार ५८, सरकारी सम्पत्तिको बहालबाट प्राप्त आय सात लाख ४९ हजार चार सय ५०, अन्य सेवा शुल्क तथा बिक्री कर दुई लाख ८७ हजार छ सय २५, परीक्षा शुल्क सात लाख चार हजार नौ सय, अन्य प्रशासनिक सेवा शुल्क सात लाख २० हजार तीन सय ३८, नक्सा पास दस्तुर १३ लाख चार हजार ६० र सिफारिस दस्तुर १९ लाख ६२ हजार चार सय ५९ रुपैयाँ सङ्कलन भएको उहाँको भनाई छ ।
त्यस्तै व्यक्तिगत घटना दर्ता दस्तुर छ लाख १७ हजार आठ सय ५०, अन्य दस्तुर एक लाख ९६ हजार छ सय तीन, व्यवसाय रजिस्ट्रेसन दस्तुर छ लाख छ हजार सात सय ३७, अन्य राजस्व तीन करोड ६७ लाख ५९ हजार नौ सय ६३, व्यवसाय कर चार लाख ४३ हजार चार सय ८२, बेरुजु असुल २५ लाख ९२ हजार पाँच सय ४८ र दहत्तर बहत्तर शुल्क ३३ लाख दश हजार ४५ रुपैयाँ उठेको बुढाले बताउनुभयो ।
अन्य पालिकाको तुलनामा दुर्गम मानिने आठबिसकोट नगरपालिकाले धेरै जसो वर्ष राजस्वको लक्ष पुरा गरिरहेको छ । जिल्ला सदरमुकाममै रहेको मुसिकोट नगरपालिकाले आठबिसकोट भन्दा कमको लक्ष लिँदा पनि हालसम्म कुनै पनि वर्ष राजस्वको लक्ष भेट्न नसकेकोमा आठबिसकोटले भने केही बाहेक हरेक वर्ष लक्षभन्दा बढी राजस्व सङ्कलन गर्ने गरेको छ ।।





-1759842583.jpg)