प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिएसंगै दल तथा उम्मेदवार चुनावी प्रचारमा व्यस्त छन् । मतदातालाई रिझाउन विभिन्न प्रतिबद्धता सहित दल र उम्मेदवारहरु कस्सिएका छन् । केही निर्वाचन क्षेत्रमा गठबन्धन दलहरु विचमा प्रतिस्पर्धा भएपनि अधिकांश निर्वाचन क्षेत्रमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतका दल सम्मिलित बाम–लोकतान्त्रिक गठबन्धन भएको छ । एमालेले पनि देशका विभिन्न निर्वाचन क्षेत्रमा विभिन्न दलहरुसंग गठबन्धन गरेको छ । गठबन्धन तथा गठबन्धनले उठाएका उम्मेदवारप्रति चित्त नबुझेर धेरै ठाउँमा स्वतन्त्रका रुपमा बागी उम्मेदवारी परेको छ । बागी उम्मेदवारी पर्ने एक निर्वाचन क्षेत्र हो रुकुम पूर्व प्रदेश सभा ‘क’ । यो निर्वाचन क्षेत्र माओवादीलाई भाग परेको छ । तर माओवादीबाटै बागी परेको छ ।
गठबन्धनका तर्फबाट माओवादीका तेजबहादुर ओलीले टिकट पाउँदा माओवादीका सुरुल पुनले स्वतन्त्रका रुपमा बागी उम्मेदवारी दिनुभएको छ । बागी उम्मेदवारी दिने पुन पूर्व जनमुक्ति सेनाका कमाण्डर हुनुहुन्छ भने पार्टीको लुम्बिनी प्रदेश सदस्य हुनुहुन्छ । यद्धपि उहाँलाई पार्टीले कारबाही गरिसकेको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार पुनलाई पार्टीको ठूलो शक्तिले सघाई रहको छ । अर्को रोचक कुरा त के छ भने यस निर्वाचन क्षेत्रको तेस्रो ठूलो शक्ति नेकपा एमालेले पनि स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको छ । गठबन्धनको प्रमुख प्रतिद्धन्दि एमालेले नै स्वतन्त्रलाई समर्थन गरेपछि यो निर्वाचन क्षेत्रमा माओवादी माओवादीकै विचमा मुख्य प्रतिस्पर्धा हुँदै छ । माओवादीको एउटा शक्ति र एमालेले पनि स्वतन्त्रलाई सघाउने भएपछि यो क्षेत्रमा तिव्र प्रतिस्पर्धा देखिन्छ ।
कसले मार्ला बाजी ?
गठबन्धनका तर्फबाट यो क्षेत्रका आधिकारिक उम्मेदवार तेजबहादुर ओली दोस्रो जितको खोजिमा हुनुहुन्छ । २०७४ सालको निर्वाचनमा उहाँ यसै क्षेत्रबाट विजयी भएर ५ वर्ष लुम्बिनी प्रदेश सभा सदस्य भइसक्नुभएको छ । २०७४ मा सहज जित हाँसिल गर्नुभएका ओलीलाई दोस्रो पटक विजयी हुन भने त्यति सहज देखिन्न । आफ्नै पार्टीबाट बागी परेको, बागीलाई पार्टीको एउटा शक्तिले सहयोग गरिरेहको, एमालेको पनि समर्थन रहेको र कांग्रेसबाट पनि बागी उम्मेदवारी परेकोले ओलीलाई मुश्किल देखिन्छ । यो क्षेत्रबाट कांग्रेसका दुतकुमार पुनले गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिनुभएको छ । कांग्रेसको केही मत उहाँले काट्ने, माओवादीको आधा र एमालेको पुरै मत स्वतन्त्र उम्मेदवार सुरुल पुनलाई जाने हो भने ओलीलाई चुनाव जित्न समस्या पर्ने देखिन्छ ।
ओलीलाई चुनाव जित्न मुश्किल बनाउने अर्को विषय हो भौगोलिक र जातिय सेन्टिमेन्ट । रुकुम पूर्व प्रदेश सभा ‘क’ मा पुथाउत्तरगंगा गाउँपालिकाका १४ वटै र भूमे गाउँपालिकाका ५ वटा वडा पर्दछन् । निर्णायक मत पुथाउत्तरगंगा गाउँपालिकाकै छ । अहिलेसम्म पुथाउत्तरगंगा गाउँपालिकाबाट तथा त्यस क्षेत्रको मगर समुदायबाट कोही पनि व्यक्ति ठूलो पदमा पुग्ने अवसर नपाएको भन्दै यो पटक भूगोल र जातिय नारा चर्को रुपमा उठेको छ । यो सेन्टिमेन्ट पनि गठबन्धनको प्रतिकुल देखिन्छ । गठबन्धनले उम्मेदवार बनाएका ओली भूमे गाउँपालिकावासी हुनुहुन्छ । त्यस्तै ओलीमाथि सदरमुकाम विवादवारे मौन बसेको आरोप छ ।
२०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिका १२ गोलखाडामा तोकेको थियो । अहिले उक्त मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधिन अवस्थामा छ । सोही क्षेत्रको प्रतिनिधि भएर पनि ओलीले यसमा केही पहल नगरेको आरोप उक्त क्षेत्रका नागरिकहरुले लगाइरहेका छन् । अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्दामा केही बोल्न नमिल्ने तर्क ओलीको छ ।
कुन दलको हैसियत के ?
गत बैशाखको स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षले पाएको मत अनुसार माओवादी पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो शक्ति हो । माओवादीले यस निर्वाचन क्षेत्रमा पर्ने दुई वटै पालिका र १९ वडा मध्य १६ वटा वडा जितेको थियो । उसको मत ६ हजार ४ सय ९२ छ । निर्वाचन क्षेत्र भरिमा एउटा वडा जितेको कांग्रेसको ३ हजार २० मत छ भने २ वडा जितेको एमालेको २ हजार १ सय ६३ मत छ । यो निर्वाचन क्षेत्रमा जसपाको मत ६१ छ । एमाले जिल्ला कमिटिले नै आफ्नो उम्मेदवारी निष्कृय पारेर स्वतन्त्र उम्मेदवार सुरुल पुनलाई समर्थन गरेको केही दिन अगाडी नै घोषणा गरेको थियो । एमालेको लगभग सबै मत स्वतन्त्रलाई जाने देखिन्छ ।
को को छन् स्वतन्त्रको पक्षमा ?
बागी उम्मेदवारी दिएको र बागी उम्मेदवारलाई सहयोग गरेको भन्दै केही दिन अघि नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशले यो क्षेत्रका ४ जना नेतालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा पार्टीका लुम्बिनी प्रदेश कार्यालय सदस्य रामसुर बुढा, प्रदेश सचिवालय सदस्य पुनिराज घर्ती, प्रदेश सदस्यहरु सुरुल पुन र संगम रोका रहनुभएको छ । उनिहरु सबैले स्वतन्त्र उम्मेदवारलाई सहयोग गरिरहेका छन् । सहयोग गर्ने मध्य पुनिराज घर्ती पुथाउत्तरगंगा गाउँपालिकाका बहालवाला अध्यक्ष हुनुहुन्छ भने रामसुर बुढा भूमे गाउँपालिकाको पूर्व अध्यक्ष हुनुहुन्छ ।
जित निश्चित छः ओली
गठबन्धनका उम्मेदवार तेजबहादुर ओलीले आफ्नो जित निश्चित रहेको दाबी गर्नुभएको छ । केही नेताहरुले स्वतन्त्रलाई सहयोग गरेको भएपनि कार्यकर्ता र मतदाता कतै नगएको उहाँको भनाई छ । त्यस्तै कांग्रेसको पुरै मत आफुलाई आउने ओलीको विश्वास छ । ‘स्वतन्त्र उम्मेदवारीले केही असर गरेको गर्दैन, जित निश्चित छ उहाँले भन्नुभयो ।’
१०–१५ प्रतिशतले जित्छौंः स्वतन्त्र उम्मेदवारका समर्थक बुढा
स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्नुभएका रामसुर बुढाले १० देखि १५ प्रतिशत बढी मतले चुनाव जित्ने दाबी गर्नुभयो । माओवादीको ७०–८० प्रतिशत र एमालेको पुरै मत आउने उहाँको दाबी छ । कांग्रेसको समेत मतले विजयी हुने उहाँले बताउनुभयो । यो उम्मेदवारी कसैका विरुद्ध नभई विधिको शासनका लागि र पार्टी भित्र मौलाइरहेको सर्वसत्तावादी चिन्तनका विरुद्ध भएको भनाई उहाँको छ ।