Kakhara सबैको खबर सम्पूर्ण खबर
निर्वाचनः रुकुम पूर्वमा साढे ४ सय कर्मचारी खटिदै, सबै मतपत्र आइपुग्यो
भूमे गाउँपालिकामा भएकाे नमूना मतदान ।

मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि रुकुम पूर्वमा सुरक्षाकर्मी बाहेक साढे ४ सय कर्मचारी खटिने भएका छन् । निर्वाचन सम्पन्न गर्नका लागि जिल्लाका ५६ स्थायी मतदान केन्द्र र १ अस्थायी मतदान केन्द्र गरी ५७ मतदान केन्द्रमा ४ सय ४८ जना कर्मचारी परिचालन हुने छन् । 

मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरी ४ सय ४८ जना कर्मचारी खटिन लागेको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो । त्यस्तै २ सय ६ जना स्वयंसेवक परिचालन हुने छन् । निर्वाचनमा खटिने कर्मचारी छनौट भइसकेका छन् भने स्वयंसेवक मतदान अधिकृतले स्थानीय स्तरमै छनौट गर्ने छन् । 

निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिृकतका लागि कार्तिक २७ गते तालिमको आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी ओलीले बताउनुभयो । त्यस्तै जिल्लाका लागि आवश्यक समानुपातिक र प्रत्यक्ष तर्फका मतपत्र तथा आवश्यक सबै निर्वाचन सामग्रि जिल्ला आइपुगेको ओलीको भनाई छ । 

जिल्लामा ३४ हजार १ सय १२ जना मतदाता छन् । प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर क मा १७ हजार ७ सय ७७ र निर्वाचन क्षेत्र नम्बर ख मा १६ हजार ३ सय ३५ मतदाता रहेका छन् । यसैविच जिल्लामा कार्तिक २९ गते देखि मतपत्र, मतपेटिका र आवश्यक सबै निर्वाचन सामग्रि मतदान स्थलमा पठाउन सुरु गरिने बताइएको छ । 

मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम पश्चात टाढाका मतदान स्थलमा कार्तिक २९ गतेदेखि सामग्रि पठाउन सुरु गर्ने गरि तयारी भइरहेको जिल्ला निर्वाचन अधिकारी ओलीले जानकारी दिनभयो ।

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update