Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पश्चिममा निर्वाचनका लागि करिब २ हजार सुरक्षाकर्मी परिचालन 

आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि रुकुम पश्चिममा करिब दुई हजार सुरक्षाकर्मी परिचालन भएका छन् । शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी गरी करिब २ हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन भएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो । 

नेपाल प्रहरी र म्यादी प्रहरी मात्र १२ सय ४९ जना परिचालन भएका छन् । बाँकी सशस्त्र प्रहरी र नेपाली सेना रहेको बताइएको छ । सबै मतदान केन्द्रहरुमा कर्मचारी संगै सुरक्षाकर्मीहरु पनि परिचालन भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । जिल्लामा अहिलेसम्मको अवस्था शान्तिपूर्ण रहेको र यस्तै वातावरणमा निर्वाचन सम्पन्न गर्ने गरी तयारी भइरहेको उहाँले बताउनुभयो । 

सुरक्षित, भयरहित र शान्तिपूर्ण वातावरणमा मतदानको व्यवस्था सहित सुरक्षित रुपमा मतपत्र ढुवानीको व्यवस्था मिलाइएको उहाँको भनाई छ । यो पटक तुलनात्मक रुपमा शान्तिपूर्ण वातावरण रहेको उहाँले बताउनुभयो । जिल्लाका मुख्य प्रतिस्पर्धी दल कांग्रेस र माओवादी केन्द्र गठबन्धनमा सामेल भएपछि जिल्लामा यसअघिको तुलनामा शान्तिपूर्ण अवस्था छ । 

तर अन्य सम्भावित जोखिमलाई मध्यनजर गरेर भने शान्ति सुरक्षालाई सुस्त पारिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । जुनसुकै अवस्थालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । साथै उहाँले सबै मतदाताहरुलाई निर्धक्क भएर मतदानमा सहभागि हुन अनुरोध समेत गर्नुभएको छ ।
 

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update