Kakhara सबैको खबर सम्पूर्ण खबर
प्राध्यापनरत शर्मा दम्पती सामाजिक सेवामा पनि अब्बल, विभिन्न तीन अक्षयकोष स्थापना 
शर्मा दम्पती ।

रुकुम पश्चिमको मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा उपप्राध्यापक मुकुन्दप्रसाद शर्मा र यमुना नन्द नमुना मावि सेरिगाउँका शिक्षक सुशिला शर्माले विभिन्न क्याम्पस, विद्यालय तथा संस्थामा तीन अक्षय कोष स्थापना गर्नुभएको छ । शर्मा दम्पतीले विद्यार्थी तथा सामाजिक क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्तिहरूलाई लक्षित गरी अक्षयकोष स्थापना गर्नुभएको हो । उहाँहरूले कुल २ लाख ३१ हजार १ सय २६ रुपैयाँ बराबरका तीन वटा अक्षयकोष स्थापना गर्नुभएको छ । उक्त अक्षयकोष आमा/बुवा, दाजु/दिदी तथा छोरा/छोरी लगायतका नाममा रहेका छन् । 

मध्यपश्चिम विश्वविद्यालय, मुसिकोट खलङ्गा बहुमुखी क्याम्पस रुकुम पश्चिममा चन्द्रकान्त, यज्ञश्वर र यमुना शर्मा स्मृति अक्षयकोष स्थापना गरिएको छ । उक्त अक्षयकोष २०७३ सालमा स्थापना गरिएको हो । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १३ का चन्द्रकान्त, यज्ञश्वर र यमुना शर्माको स्मृतिमा अक्षयकोष स्थापना गरिएको अक्षयकोषकर्ता मुकुन्दप्रसाद शर्माले जानकारी दिनुभयो । यज्ञश्वर शर्मा र यमुना शर्माले १० वर्षे जनयुद्धमा सहादत प्राप्त गर्नुभएको र उहाँहरूको योगदानको कदर गर्दै उक्त अक्षयकोष स्थापना गरिएको शर्माले बताउनुभयो । यज्ञश्वरले २०५५ साल भदौ १७ गते कैलालीको कौवापुरमा र यमुनाले रुकुम पश्चिमको खोलागाउँमा २०५६ मङ्सिर २१ गते साहतद प्राप्त गर्नुभएको थियो । चन्द्रकान्तको भने २०७२ साल चैत्र २६ गते निधन भएको थियो । यो अक्षयकोष १ लाख १५ हजार १५ रुपैयाँको रहेको छ । अक्षयकोषको लाभांशबाट हालसम्म स्नातक र स्नातकोत्तर तहका गरी १८ जना गरिब तथा विपन्न, जेहनदार र सहिद परिवारका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको अक्षयकोषकर्ता शर्माको भनाई छ । उहाँका अनुसार तीन जनाको स्मृति दिवसको दिन प्रत्येक वर्ष नगद तथा प्रशंसा पत्र सहित उक्त क्याम्पसका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने गरिएको छ । 

त्यस्तै अर्को अक्षयकोष सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ३ जनता मावि रागेचौरमा स्थापना गरिएको छ । उक्त अक्षयकोषको नाम वीरभद्र शर्मा तथा देवकला अक्षयकोष रहेको अक्षयकोषकर्ता सुशीला शर्माले बताउनुभयो । यो अक्षयकोष २०७८ सालमा स्थापना गरिएको हो । यो अक्षयकोषबाट हरेक वर्ष एसइइमा उत्कृष्ट अङ्क प्राप्त गर्ने एक जना छात्र र एक जना छात्रालाई छात्रवृत्ति प्रदान गरिने शर्माले बताउनुभयो । तर अहिलेसम्म छात्रवृत्ति वितरण सुरु भएको छैन । यस वर्ष देखि छात्रवृत्ति वितरण सुरु हुने बताइएको छ । यो अक्षयकोष १ लाख १ हजार १ सय ११ रुपैयाँको छ । यो अक्षयकोष आमा बुवाको योगदान तथा स्मृतिमा स्थापना गरिएको मुकुन्दप्रसाद शर्माले बताउनुभयो । 

शर्मा दम्पतीले स्थापना गरेको तेस्रो अक्षयकोष हो सुमुना/सुमन साहित्य अक्षयकोष । २०७६ सालमा स्थापना गरिएको यो अक्षयकोषबाट रुकुम जिल्लाको भाषा, साहित्य, संस्कृति र पत्रकारिताका क्षेत्रमा उत्कृष्ट काम गरेबापत हरेक वर्ष भाषाविद्, साहित्यकार, कलाकार, संस्कृतिकर्मी र पत्रकारलाई पुरस्कृत गर्ने गरिएको छ । यो अक्षयकोष राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिममा रहेको छ । यस अक्षयकोषबाट हरेक वर्ष राप्ती साहित्य परिषद्को स्थापना दिवसका अवसरमा एक जना व्यक्तिलाई नगद र सम्मान पत्र सहित पुरस्कृत गर्ने गरिएको अक्षयकोषकर्ता शर्माले बताउनुभयो । याे अक्षयकाेषबाट अहिलेसम्म २ जनालाई पुरस्कृत गरिएको छ । यसको राशी १५ हजार रहेको छ । शर्मा दम्पतीले यो अक्षयकोष छोरा छोरीको नाममा स्थापना गर्नुभएकाे हाे । 

महान् सहिदहरूको योगदान तथा गौरवपूर्ण इतिहासको स्मृति गर्न, समाजमा रहेका विशिष्ट व्यक्तिहरूको योगदानको कदर गर्न, शैक्षिक क्षेत्रमा लगानी गर्न तथा प्रोत्साहित गर्न र विद्यार्थीहरूलाई उत्प्रेरित गरी उत्प्रेरणा प्रदान गर्न यी अक्षयकोषहरु स्थापना गरिएको शर्मा दम्पतीको भनाई छ ।  

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update